अत्यावश्यक वस्तुको आपूर्तिमा इरान ढुक्क, सुरक्षा व्यवस्था सुदृढ रहेको गृह मन्त्रालयको दाबी | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८३, सोमबार

अत्यावश्यक वस्तुको आपूर्तिमा इरान ढुक्क, सुरक्षा व्यवस्था सुदृढ रहेको गृह मन्त्रालयको दाबी

इरानको गृह मन्त्रालयले देशमा अत्यावश्यक वस्तुहरूको आपूर्तिमा कुनै समस्या नरहेको र इरानलाई आर्थिक वा व्यापारिक रूपमा नाकाबन्दी गर्न असम्भव रहेको बताएको छ । शनिवार आयोजित एक पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता अली जेनिभान्डले देशको आपूर्ति व्यवस्था र सुरक्षा अवस्थाबारे यस्तो जानकारी दिनुभएको हो । प्रवक्ता जेनिभान्डले दक्षिणी सीमाबाट हुने आयातमा केही प्राविधिक अवरोधहरू देखिए पनि पूर्वी, पश्चिमी र उत्तरी नाकाहरूबाट आपूर्ति श्रृङ्खला सुचारु रहेको स्पष्ट पार्नुभयो । उहाँकाअनुसार सरकारले प्रदेशका गभर्नरहरूलाई थप अधिकार प्रत्यायोजन गर्दै स्थानीय उद्योग र कार्यशालाहरूका लागि आवश्यक कच्चा पदार्थ सुनिश्चित गर्न छिमेकी प्रान्त तथा राष्ट्रहरूसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ । सैन्य तयारीका सन्दर्भमा प्रवक्ता जेनिभान्डले इरानी सशस्त्र बलहरू उच्च सतर्कताको अवस्थामा रहेको बताउनु भयो । संयुक्त राज्य अमेरिका र इजरायलसँगको हालैको द्वन्द्व शुरु हुनुअघिको तुलनामा अहिले इरानी सेनाको सैन्य तयारी र क्षमता धेरै गुणा बढी रहेको उहाँको दाबी छ । विदेशी शक्तिहरूले सुरक्षामा खलल पु¥याउन गरेका सानातिना प्रयासहरूलाई सुरक्षा बलले विफल तुल्याएको समेत उहाँले जानकारी दिनुभयो । यससँगै इरान सरकारले आफ्ना नागरिकहरूलाई अत्यावश्यक सामग्रीको आपूर्ति र राष्ट्रिय सुरक्षाका विषयमा पूर्ण रूपमा आश्वस्त रहन आग्रह गरेको छ ।

Leave a Reply