कुशलको शतकमा नेपालको रबाफिलो जित | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८३, आइतबार

कुशलको शतकमा नेपालको रबाफिलो जित

काठमाडौँ 

ओपनर कुशल भुर्तेलको शतकप्रेरित नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा अमेरिकामाथि रबाफिलो जित निकालेको छ ।कीर्तिपुरमा शनिवार भएको श्रृंखलाको आफ्नो दोस्रो खेलमा बलिङ र ब्याटिङमा साथ पाएपछि नेपालले पाहुना टोली अमेरिकामाथि ९ विकेटको रबाफिलो जित आत्मसात् गरेको हो । लिग–२ को अंकतालिकामा शीर्ष दुई टोली अमेरिका र स्कटल्यान्ड सम्मिलित यस श्रृंखलामा जितले नेपाली टोलीमा आत्मबल प्रदान गर्नेछ । पहिलो खेलमा भने घरेलु टोली स्कटल्यान्डसँग जितनजिक पुगेर २ रनले पराजित भएको थियो । तर, बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले यस साइकलमा पहिलोपल्ट अमेरिकालाई हराउन सफल भयो । नेपालको जितमा ओपनर कुशलले १२० रनको सानदार अविजित इनिङ खेले ।अलराउन्ड दीपेन्द्रसिंह ऐरीले पनि उत्कृष्ट बलिङ गरे । यो जितपछि सातौं स्थानको नेपालले २६ खेलबाट २० अंक जोड्यो । अंकतालिकाको शीर्ष चारभित्र रहेर विश्वकप छनोटमा पुग्न यो जितले नेपाली टोलीमा आत्मबल मिल्नेछ । अंकतालिकाको चौथो स्थानमा रहेको नेदरल्यान्ड्ससँग नेपाल आठ अंकले पछि छ ।

यद्यपि, डच टोलीले २४ खेल मात्र खेलेको छ । हारपछि अमेरिका अंकतालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । २६ खेलबाट ३६ अंक जोड्दै अमेरिका दोस्रो स्थानमा छ । स्कटल्यान्ड भने ३० खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा छ । शृंखलाको बाँकी दुई खेल जित्न सके आठ राष्ट्र सम्मिलित लिग–२ को साइकल (२०२४÷०२७) मा शीर्ष चारमा पुग्ने नेपालको लक्ष्यमा आत्मबल मिल्नेछ ।त्रिवि क्रिकेट स्टेडियममा अमेरिकाले एक सय ९६ रनको सामान्य लक्ष्य दियो । तर, नेपालले ३६.४ ओभरमा मात्र एक विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । पहिलो विकेटका लागि ओपनरद्वय कुशल र आसिफ शेखले १४५ रनको साझेदारी गर्दै जितको आधार बनाए । आसिफ ५८ रनको अर्धशतकीय योगदान दिए । उनी २६.३ ओभरमा मोहम्मद मोहसिनद्वारा आउट भए । उनले ७२ बलमा आठ चौका प्रहार गरे । कुशलले दोस्रो विकेटका लागि ईशान पाण्डेसँग ५४ रनको अविजित साझेदारी गर्र्दै जित दिलाए । डेब्यु खेलमै ईशान २० रनमा अविजित रहे । उनले चौका प्रहार गर्दै ८० बलअगावै जित सुरक्षित गराए ।

११८ बल खेलेका कुशलले १३ चौका र चार छक्का हिर्काए । कुशलले करियरको दोस्रो एकदिवसीय शतक पूरा गरे । यसअघि उनले पछिल्लो संस्करणको लिग–२ मा नै नामिबियाविरुद्ध शतक प्रहार गरेका थिए । अमेरिकाले सात बलर प्रयोग गरे पनि नेपालको जित रोक्न सकेन । टस जितेर पहिले ब्याटिङ गर्ने अमेरिकाको निर्णय सुरुआतमा सही साबित भयो । तर, घरेलु बलर लयमा फर्किएपछि अमेरिका ४३.३ ओभरमा १९५ रनको सामान्य योगफलमा नै समेटियो । ओपनर स्मित पटेलले ८९ बलमा ८३ रनको अर्धशतकीय इनिङ खेले । त्यसअघि सोमपाल कामीको बलमा स्मित १४ रनमा विकेटकिपर आसिफद्वारा क्याच ड्रप हुँदा जीवनदान पाए । तर स्मितले त्यसको फाइदा उठाए ।
३१औं ओभरमा उनी सोमपालकै बलमा आसिफद्वारा नै क्याच भएका हुन् । स्मितले आठ चौका र तीन छक्का प्रहार गरे ।

उनी आउट हुँदा अमेरिका ३०.५ ओभरमा १५८÷४ को राम्रो स्थितिमा नै थियो । तर, उनको विकेट पतनसँगै अमेरिका समालिन सकेन । त्यसअघि शेहान जयसुर्याले ५२ बलमा ५० रनको अर्धशतकीय इनिङ बनाए । उनको इनिङमा पाँच चौका र एक छक्का रह्यो । मिलिन्द कुमारले २८ र हरमित सिंहले १४ रनबाहेक अमेरिकाका तल्लो क्रमका ब्याटर क्रिजमा टिक्न सकेनन् । दोस्रो विकेटका लागि जयसुर्या र स्मितले एक सय रनको शतकीय साझेदारी पूरा गरेका थिए । दीपेन्द्रले जयासूर्यालाई आउट गर्दै साझेदारी तोडे । त्यसपछि अन्य ब्याटर चल्न नसक्दा अमेरिका सस्तैमा समेटिन पुग्यो ।अमेरिकाका कप्तान साइतेजा मुकामल्लासहित सात ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । नेपालको बलिङमा दीपेन्द्रले चार, सोमपालले दुई विकेट लिँदा सन्दीप लामिछाने र गुलसन झाको नाममा समान एक विकेट रह्यो । अब नेपालले सोमबार स्कटल्याण्डसँग दोस्रो खेल खेल्नेछ ।

Leave a Reply