काठमाडौँ ।
परराष्ट्र मामिला तथा सुरक्षा विज्ञ इन्द्र अधिकारीले नेपालको परराष्ट्र कुटनीति सञ्चालनका क्रममा ऐतिहासिक कालदेखि नै शासकहरू यहाँको संवेदनशील भू–अवस्थितिबारे सचेत रहेको बताउनुभएको छ । नेपालको सार्वभौमसत्तालाई विभिन्न राजनीतिक प्रणालीहरूमा नेतृत्वले जोगाउँदै ल्याएको भएपनि कुटनीतिक अभ्यासमा कतिपय अवस्थामा ‘हिनताबोध’ झल्कने गरेको उहाँको विश्लेषण छ । अधिकारीकाअनुसार नेपालले कानूनी रूपमा (डि–ज्युरे) आफ्नो सार्वभौमसत्ता कायम राखे पनि व्यवहारिक (डि–फ्याक्टो) रूपमा आफूलाई कमजोर वा ‘इन्फेरियर’ ढङ्गले प्रश्तुत गर्ने गरेको पाइएको छ । विशेष गरी पृथ्वीनारायण शाहको ‘दुई ढुङ्गाबीचको तरुल’ भन्ने उपदेशलाई सन्दर्भ जोड्दै उहाँले यस भाष्यले नेपाललाई स्वभावैले कमजोर र चलखेल गर्न नसक्ने राज्यका रूपमा चित्रण गरेको टिप्पणी गर्नुभयो ।
नेपाललाई ‘बफर जोन’ (मध्यवर्ती क्षेत्र) मान्ने गरिएको विषयमा स्पष्ट पार्दै उहाँले नेपालले आफूलाई कहिल्यै पनि औपचारिक रूपमा ‘बफर स्टेट’ स्वीकार नगरेको जानकारी दिनुभयो । ‘बफर स्टेट’ हुनका लागि दुई ठूला र शक्ति राष्ट्रहरूबीच द्वन्द्व रोक्न सक्ने हैसियत भएको राज्य हुनुपर्ने र ती शक्ति राष्ट्रहरूले उक्त राज्यको सीमासम्म मात्र आफ्नो प्रभाव सिमित रहने गरी औपचारिक वा अनौपचारिक सहमति गरेको हुनुपर्ने उहाँको तर्क छ । नेपालको हकमा यस्तो कुनै पनि अन्तर्राष्ट्रिय मान्यता वा सहमति नरहेको उहाँले स्पष्ट पार्नुभयो । वर्तमान सन्दर्भमा नेपाल सरकारले अवलम्बन गर्न खोजेको ‘बफर टु ब्रिज’ (मध्यवर्तीबाट पुल) को अवधारणामाथि चर्चा गर्दै अधिकारीले नेपालको भू–राजनीतिक संवेदनशीलतालाई अवसरमा बदल्नुपर्नेमा जोड दिनुभयो । दुई छिमेकी मुलुकका बीचमा सन्तुलित कुटनीति कायम गर्दै नेपालले आफ्नो सार्वभौम हैसियतलाई दृढतापूर्वक प्रश्तुत गर्नुपर्ने उहाँको सुझाव छ ।




