खाता नखोल्दै ओपनर गुमाएको नेदरल्याण्ड्स ३९औं ओभरमा अलआउट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

खाता नखोल्दै ओपनर गुमाएको नेदरल्याण्ड्स ३९औं ओभरमा अलआउट

काठमाडौं,६ फागुन । नेपालले शनिवार बलियो टोली नेदरल्याण्ड्समाथि ९ विकेटको रबाफिलो जित निकाल्दै आइसिसी विश्वकप लिग–२ मा पहिलो जित निकालेको छ । स्पिनरको साथ पाएपछि नेपालले नेदरल्याण्ड्समाथि यादगार जितसँगै घरेलु मैदानमा जारी लिग–२ मा पहिलो जित आत्मसात् ग¥यो । गत बिहीवार नामिबियासँग चार विकेटको हारबाट नेपालले विश्वकप लिग–२ को दोस्रो संस्करण शुरुवात गरेको थियो । तर त्रिदेशीय श्रृंखलाको दोस्रो खेलमा स्पिनर चम्किएपछि नेपालले डच टोलीलाई पनि हारबाट शुरुवात गर्न बाध्य बनायो । पार्ट टाइमर स्पिनर कुशल भुर्तेलले चार विकेट, स्पिनरद्वय ललितनारायण राजवंशीले दुई तथा कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए ।

घरेलु टोलीको उत्कृष्ट बलिङसामु डच टोली ३९ औं ओभरमा १३७ रनमै समेटियो । जवाफमा नेपालले १५.२ ओभरमै मात्र एक विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । ओपनर आसिफ सेख र अनिल साहले अर्धशतक पूरा गर्दै सहज जित दिलाए । अनिलले ५७ रन र आसिफले ५४ रन जोडे । यी दुईले दोस्रो विकेटका लागि एक सय पाँच रनको साझेदारी गरे । आसिफले ४५ बलमा आठ चौका र एक छक्का गरे । अनिलले ३६ बलमा ६ चौका र चार छक्का प्रहार गर्दै आक्रामक ब्याटिङ गरे ।

लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका अनिलले पछिल्ला दुई हप्तामा दोस्रो अर्धशतक बनाए । क्यानडासँगको श्रृंखलामा उनले एक शतक र अर्धशतक बनाएका थिए । नामिबियासँग अनिल र आसिफ दोहोरो अकंमा रन जोड्न असफल रहे । दुवैले डच टोलीबिरुद्ध भने उत्कृष्ट ब्याटिङ गर्दै लय समाते । अर्का ओपनर कुशल भुर्तेलको आक्रामक ब्याटिङसँगै नेपालले राम्र्रो शुरुवात पायो । भिभियन किङ्माले कुशललाई २८ रनमा आउट गरे । यद्यपि उनी आउट हुँदा नेपालले २.५ ओभरमै ३६ रन जोड्यो ।

११ बलमा कुशलले दुई चौका र तीन छक्का प्रहार गरे । डच बलरले नेपाली ब्याटरलाई खासै चुनौति दिन सकेनन् । कप्तान स्कट एडवार्डले प्रयोग गरेका सबै बलर महँगा सावित भए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स शुरुदेखि नै दबाबमा रह्यो । खाता नखोल्दै ओपनर गुमाएको नेदरल्याण्ड्स ३९ औं ओभरमा १३७ रनमा नै अलआउट भयो । ओपनरद्वय मिकाइल लेभिटले शुन्यमा र म्याक्स ओ डोउड १० रनमा आउट भए । तिब्र गतिका बलर सोमपाल कामीले इनिङको तेस्रो बलमा लेभिटलाई देव खनालबाट क्याच गराउँदै राम्रो शुरुवात दिलाए ।

छैटौं ओभरमा म्याक्स भीम सार्कीद्वारा रनआउट भए । ५.६ ओभरमा नेदरल्याण्ड्स १८÷२ को नाजुक अवस्थामा पुग्यो । स्पिनर ललितनारायण राजवंशीले कसिलो बलिङ गर्दै थप दबाब बनाए । उनले तेस्रो र चौथो विकेट लिए । सिब्रान्ड एंगलब्रेक्ट २३ रनमा र बास डी लिडेमा २७ रनमा आउट भए । त्यससँगै १९.२ ओभरमा डच टोली ६७÷४ को अवस्थामा पुग्यो । तर कप्तान स्कटले इनिङ सम्हाल्ने प्रयास गरे । उनले पाँचौं विकेटका नोअ क्रोससँग ३० रनको साझेदारी गरे । उत्कृष्ट फिल्डिङ गरेको नेपालले दोस्रो रनआउट गरायो ।

कुशल मल्लले क्रोसलाई १२ रनमा रनआउट गरेसँगै डच टोली ९७÷५ को अवस्थामा पुग्यो । थप चार रन जोड्दा डच टोलीले दुई विकेट गुमायो । कुशल भुर्तेलले वेस्ले बेरेसीलाई शुन्यमा नै पभेलियन फर्काए । लगत्तै कप्तान रोहितकुमार पौडेलले सरिज अहमलाई १ रनमै आउट गरे । त्यसपछि कुशलले लगातार दबाब बनाए । उनले आर्यन दत्तलाई १० रन र कप्तान स्कटलाई ३३ रनमा पभेलियन फर्काउँदै ठूलो सफलता दिलाए । दशौं विकेट पनि उनकै नाममा रह्यो ।

कुशलले भिभियनलाई २ रनमा विकेटकिपर आसिफद्वारा क्याच गराए । उनले सात ओभरमा २० रन खर्चंदै चार विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका कुशल म्यान अफ दी म्याचसमेत भए । स्पिनर ललितनारायणले १० ओभरमा ३२ रन र कुशल मल्लले सात ओभरमा एक मेडनसहित १९ रन मात्रै खर्चिंदै किफायती बलिङ गरे । उनलले अब तेस्रो खेल नामिबियासँग आगामी बुधवार खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);