अमेरिकी केन्द्रिय बैंक ’फेडरल रिजर्भ’ को नयाँ अध्यक्षमा केभिन वार्स नियुक्त | ईमाउण्टेन समाचार

Our Network

साउन २० २०८३, बिहीबार

अमेरिकी केन्द्रिय बैंक ’फेडरल रिजर्भ’ को नयाँ अध्यक्षमा केभिन वार्स नियुक्त

अमेरिकी सिनेटले केभिन वार्सलाई ‘फेडरल रिजर्भ सिस्टम’ को बोर्ड अफ गभर्नर्सको नयाँ अध्यक्षका रूपमा अनुमोदन गरेको छ । बुधवार भएको मतदानमा ५४–४५ को मतान्तरले ५६ वर्षीय वार्सको मनोनयनलाई स्वीकृत गरिएको हो । बढ्दो मुद्रास्फीति र भूराजनीतिक अस्थिरताका बीच उहाँले अब अमेरिकी केन्द्रिय बैंकको नेतृत्व सम्हाल्नुहुनेछ । रिपब्लिकन बहुमत रहेको सिनेटले यसअघि मंगलवार नै वार्सलाई फेडरल रिजर्भको सात सदस्यीय बोर्ड अफ गभर्नर्सको १४ वर्षे कार्यकालका लागि अनुमोदन गरेको थियो । ह्वाइट हाउसबाट अन्तिम हस्ताक्षर भएपछि उहाँको औपचारिक शपथ ग्रहण हुनेछ ।
वार्सले वर्तमान अध्यक्ष जेरोम पावेलको स्थान लिनुहुनेछ । जसको अध्यक्षका रूपमा कार्यकाल यसै शुक्रबार समाप्त हुँदैछ । नेतृत्वबाट हटे पनि पावेल फेडरल रिजर्भ बोर्डको गभर्नरका रूपमा भने कायमै रहनेछन् ।
केन्द्रीय बैंकले बढ्दो मूल्यवृद्धिको दबाब झेलिरहेको समयमा यो नेतृत्व परिवर्तन भएको हो । सन् १९७० मा जन्मेका वार्स कानुन व्यवसायी तथा वित्तविज्ञ हुनुहुन्छ । उहँँले यसअघि सन् २००६ देखि २०११ सम्म फेडरल रिजर्भको गभर्नरका रूपमा काम गरिसक्नुभएको छ । उक्त समयमा उहाँले विश्वव्यापी आर्थिक संकटको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
नवनियुक्त अध्यक्ष वार्सको नेतृत्वमा पहिलो नीति निर्धारण बैठक आगामी जुन १६–१७ मा बस्ने अपेक्षा गरिएको छ । राष्ट्रिय आर्थिक परिषद्का निर्देशक केभिन ह्यासेटले फक्स न्युजसँगको कुराकानीमा वार्सको आगमनले बजारलाई राहत दिने र समयक्रममा ब्याजदर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले वार्सलाई एक अत्यन्त बुद्धिमान र सक्षम व्यक्तिका रूपमा चित्रण गर्दै उनले आफ्ना सहकर्मीहरूलाई सहमत गराउन सक्ने क्षमता राख्ने बताउनु भयो । वार्सले पछिल्लो समय अमेरिकी अर्थ मन्त्रालयसँगको समन्वयलाई थप सुदृढ बनाउने र फेडको ‘ब्यालेन्स शीट’ मा कटौती गर्ने जस्ता सुधारका योजनाहरू अघि सार्नुभएको छ । उहाँको पुनरागमनसँगै केन्द्रीय बैंकको राजनीतिक स्वतन्त्रताका विषयमा पनि चर्चा शुरु भएको छ ।

Leave a Reply

ताजा समाचार