प्राकृतिक प्रकोप हुँदा काठमाडौंमा ज्यान जोगाउनै मुस्किल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

प्राकृतिक प्रकोप हुँदा काठमाडौंमा ज्यान जोगाउनै मुस्किल

फूलमाया आले

काठमाडौं, ५ फागुन  । अव्यवस्थित शहरीकररणका कारण काठमाडौंको जनजीवन अस्तव्यवस्त छ । बाक्लो बस्ती र साँघुरो गल्लीका कारण कुनै प्राकृतिक प्रकोप तथा दुर्घटना हुँदा यहाँ ज्यान जोगाउनै मुस्किल छ । खुला ठाउँ नहुँदा भूकम्प गएको बेला काठमाडौंमा धेरैले ज्यान गुमाए । साथै आगलागीका घटना हुँदासमेत साँधुरो गल्लीका कारण दमकल जानसमेत समस्या हुने गरेको छ ।

शनिबार बिहान साढे ३ बजेतिर काठमाडौं महानगरपालिका वडा नम्बर १२ स्थित लगन टोलमा आगलागी भयो । आगलागीमा परी ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भयो भने श्रेष्ठका छोरा घाइते भए । श्रेष्ठको परिवार अमृतलाल रञ्जितको पूरै घर भाडामा लिएर वस्दै आएको थियो ।

रञ्जितको घरबाट सल्किएको ओगोले नारायण महर्जनको घरसमेत जलेर नष्ट भयो । आगलागी नियन्त्रण गर्न सुरक्षाकर्मी र वारुण यन्त्रणको टोलीलाई करिब ४ घण्टा लाग्यो ।

उपत्यकामा अव्यवस्थित रुपमा बनेका पूर्वाधार र बाक्लो बस्तीले यस्ता घटना हुँदा समस्या हुने गरेको छ । साँधुरा गल्लीका कारण दमकल जान नसक्नु र पानीको समेत अभावले आगलागीका घटनाले धेरै क्षती हुनेगरेको छ ।

उपत्यकामा खुल्ला स्थानहरु नहुँदा प्राकृतिक विपत्तिहरु आइलाग्यो भने पनि भाग्न तथा बस्न समस्या हुने गरेको सर्वसाधारण बताउँछन् । त्यसैले काठमाडौ महानगरले स्थानीय जनता, वडा तथा विभिन्न संघ सस्थासँग समन्वय गरेर व्यवस्ति सहरीकरणको योजना बनाइ कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

प्राकृतिक विपत्तिहरुलाई रोक्न सकिन्न तर त्यसको क्षति न्यूनीकरण गर्नका लागि पूर्व तयारी अपनाउन भने सकिन्छ । त्यसैले काठमाडौंमा बनेका अव्यवस्थित संरचनालाई व्यवस्थित बनाउँन र आश्यक पूर्वाधारको विकास गर्न सरोकारवाल निकाय सचेत हुन जरुरी छ ।