अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विश्वकै महत्वपूर्ण ऊर्जा जलमार्गका रूपमा रहेको होर्मुज स्ट्रेटमा इरानले कायम गरेको नियन्त्रणलाई संयुक्त राज्य अमेरिकाले ‘सामान्य’ रूपमा स्वीकार नगर्ने स्पष्ट पार्नुभएको छ । उक्त सामरिक जलमार्गमा अमेरिका र इरानबीच गोली हानाहान भएको भोलिपल्ट विदेशमन्त्री रुबियोको यस्तो प्रतिक्रिया आएको हो । इरानले सो क्षेत्रमा आफ्नो पकड बलियो बनाउँदै लगेपछि अमेरिकाले त्यसप्रति गम्भीर आपत्ति जनाएको छ ।
यसअघि गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानको राजधानी तेहरान लगायतका सहरहरूमा संयुक्त सैन्य आक्रमण गरेका थिए । उक्त आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमान्डरहरू र सर्वसाधारणको मृत्यु भएको थियो । त्यसको प्रतिशोधस्वरूप इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरूमा श्रृंखलावद्ध मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । साथै, इरानले विश्व व्यापारका लागि अत्यन्तै संवेदनशील मानिने होर्मुज स्ट्रेटमा आफ्नो नियन्त्रणलाई थप कडा बनाएको छ । जसका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा चुनौती थपिएको छ ।





