होसियार ! छोराछोरी साइबर कुलतमा फस्लान् | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८१, आइतबार

होसियार ! छोराछोरी साइबर कुलतमा फस्लान्

काठमाडौं, ५ फागुन । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालप्रतिको बढ्दो आकर्षण र इन्टरनेट सुविधाको सुलभ तथा सहज पहुँचका कारण नेपाली बालबालिका तथा महिला साइबरको कुलतबाट नराम्रोसँंग प्रभावित भएको पाइएको छ ।

‘जस्ट से नो’ नामक संस्थाले आयोजना गरेको ‘इन्टरनेट तथा अनलाइनबाट नेपाली बालबालिकामाथि हुने यौन दुव्र्यवहार र देह व्यापार’ विषयक गोष्ठीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी नायव महानिरीक्षक पुष्कर कार्कीले छोराछोरीको क्रियाकलापप्रति अभिभावक सचेत हुनुपर्ने धारणा राखे ।

सूचना प्रविधिको विकासले धेरै कुरालाई सहज तुल्याए पनि यसको दुरूपयोग हुँदा सामाजिक विकृति तथा अपराध बढेको चर्चा गर्दै उनले ‘इन्टरनेट र सामाजिक सञ्जाल’ दुरूपयोग गर्ने कार्यबाट बालबालिकाहरूलाई टाढै राख्नुपर्ने सुझाव दिए । साइबर विज्ञ हिमाल ओझाले मोबाइल, आईप्याड र ट्याब लिएर एकान्तमा बस्न मन पराउने नानीबाबुको आनीबानीमा ध्यान दिनुपर्ने बताउछन् ।

इन्टरनेटप्रेमी बालबालिकाहरूलाई साइबर अपराधीहरूले विभिन्न प्रलोभनमा पारी आर्थिक आयआर्जनको आधार बनाउनुका साथै यौन जन्य क्रियकलापमा संलग्न गराउने, देह व्यापार गर्न लगाउने र अपहरण गरी जीवन नै सङ्कटमा पार्ने गरेको जानकारी पनि उनले दिए । उनले नेपालमा सामाजिक सञ्जाल फेसबुक र इमो लगायत विभिन्न सञ्जालबाट सम्बन्ध बढाउने, बालबालिका तथा महिलालाई आर्थिक प्रलोभन देखाई फकाउने, भेट्न बोलाउने र अन्त्यमा बलात्कार गरी भाग्ने गरेको यथार्थ सुनाए ।

बालबालिकाले पनि यस्तै नराम्रा कुराप्रति बढी रुचि राख्ने भएकाले साइबर अपराधीले दुरूपयोग गर्ने गरेको पाइएको छ । यतिसम्म कि व्यक्तिगत स्वार्थपूर्तिका लागि अरुहरूको चरित्र हत्या गर्नेदेखि आर्थिक लाभ लिनसमेत प्रयोग गर्ने गरेको पाइएको छ । एक साथीबाट अर्को साथीसँंग सम्बन्ध जोड्न लगाई अश्लील भिडियो खिचेर ‘पोर्नो’ वेभसाइटलाई बिक्री गर्ने, भिडियो सार्वजनिक गरिदिने धम्की दिई रकमको माग गर्ने र यौनजन्य क्रियाकलाप गर्न बाध्य पार्ने गरेको जानकारी दिएको थियो ।

ब्युरो प्रहरीको साइबर पिलरका प्रहरी निरीक्षक प्रमेश विष्टले साइबर अपराधसम्बन्धी नेपालको कानुन पनि कमजोर रहेको बताए । साइबर अपराधमा संलग्न व्यक्तिले दिएको चोट नदेखिने भए पनि जीवनका लागि निकै घातक हुन्छ उनले थपे । ‘अभिभावकहरू सचेत नभइदिँदा बालबालिका साइबर अपराधको शिकारमात्र नभई दुरूपयोग समेत हुने गरेका छन्’, उनले भने , ‘साइबर अपराधसम्बन्धी सचेतना फैलाउन आवश्यक छ । अभिभावक बालबालिकाहरूको क्रियाकलापप्रति सजग हुन आवश्यक छ । ’

फिलिपिन्स र भारतमा सामाजिक सञ्जालकै दुरूपयोगबाट बालबालिकाहरू बलात्कारको शिकार हुने गरेको जानकारी सो अवसरमा दिएको हो । त्यस्तै, युरोपमा बालिकालाई आत्मघाती हमला गराउन आईएस नामक लडाकु समूहले यस्तै सञ्जाल प्रयोग गर्ने गरेको पाइएको छ । राजधानीको दरबारमार्ग सामूहिक बलात्कार घटना पनि सामाजिक सञ्जालकै दुरूपयोगका कारण भएको चर्चा कार्यक्रममा गरिएको थियो ।

यो खबर आजको गोरखापत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);