पोखरा, ५ फागुन । दैनिक दुई लाख सवारी चल्ने प्रदेश ४ को राजधानी पोखरामा त्यसको व्यवस्थापनका लागि २८ ट्राफिक प्रहरीको दरबन्दी छ । दैनिक सवारीको चाप बढ्दै गएको तर दरबन्दी नबढ्दा पोखरामा ट्राफिक व्यवस्थापन ठूलो समस्या भएको प्रहरीको गुनासो छ ।
ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख ऐनकुमार मल्लका अनुसार अहिले २८ जनाको दरबन्दी रहेको र तत्काल थप १४० ट्राफिक प्रहरी आवश्यक रहेको छ । अहिले काजमा आएकासमेत गरी ६८ ट्राफिक प्रहरीले पोखरा–लेखनाथ महानगरपालिका र जिल्लाभरको सवारी व्यवस्थापनको काम गरिरहेका छन् ।
मल्लका अनुसार पोखरामा औसत दैनिक ५० दुईपांग्रे र पाँचवटा चारपांग्रे सवारी दर्ता हुने गरेका छन् । न्यून जनशक्ति, सार्वजनिक सवारीसाधनको बढ्दो संख्या र पार्किङ अभावले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उनको गुनासो छ ।
पोखरालाई भूपि शेरचन राजमार्ग, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गले जोडेको छ । यातायात व्यवस्था कार्यालय गण्डकीमा १ लाख ८० हजार सवारीसाधन दर्ता छन् । त्यसैगरी, धौलागिरि र बागमतीलगायत अञ्चल कार्यालयमा दर्ता सवारी आवतजावत गर्छन् ।
भारतीय सवारीसाधनको समेत आवतजावत राम्रो छ । प्रदेश संरचनामा गइसकेपछि पोखरामा धेरै जनशक्ति आवश्यक रहेको उनको भनाइ छ । प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्री एवं विभिन्न निकाय र कूटनीतिज्ञका गाडीको समेत व्यवस्थापनमा थप ट्राफिक जनशक्तिको आवश्यकता रहेको मल्लले बताए ।
यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।




