चार्डपर्वलाई मध्यनजर गर्दै ट्राफिकले सडक मैं चालकको स्वास्थ्य र सवारी साधनको परीक्षण गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

चार्डपर्वलाई मध्यनजर गर्दै ट्राफिकले सडक मैं चालकको स्वास्थ्य र सवारी साधनको परीक्षण गर्दै

श्याम गुप्ता, बारा । चार्डपर्वलाई मध्यनजर गर्दै बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ स्थित आयल निगमको अगाडी रहेको ६ लेनको सडकमा स्टपेजको व्यवस्था मिलाएर अमलेखगञ्जबाट बाहिरिने र भित्रिने सार्वजनिक सवारीका साधनको अवस्था र चालकको स्वास्थ्य बारे ट्राफिक प्रहरीले ‘यान्त्रिक परीक्षण’ गरेको छ ।
प्राविधिक तथा चिकित्सकहरूको सहयोगमा बारा जिल्लामा भित्रिने र बाहिरिने बस, ट्रक, जीप, सुमो र माईक्रो गरी ५ सय ८० वटा सवारीको अवस्था र सो सवारीका चालकको स्वास्थ्य परीक्षण समेत गरिएको हो । मधेश प्रदेशमा सवारी दुर्घटना बढिरहेको हुँदा ट्राफिक प्रहरीले सडक मैं चालकको स्वास्थ्य परीक्षण र सवारी साधनको यान्त्रिक परीक्षण गरेको हो ।

यसले चालकलाई रिफ्रेस बनाउँनुका साथै आँफुले चलाएको सवारी साधनको अवस्था र स्वंम् चालकको स्वास्थ्य बारे जानकारी दिने लक्ष्यका साथ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराले स्वास्थ्य तथा यान्त्रिक परीक्षण गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यात्रुवाहक सवारी साधन चलाउँने चालकको स्वास्थ्य अवस्था, यात्रुवाहक सवारी साधनको यान्त्रिक अवस्थाका बारेमा परीक्षण गर्ने र समस्या वा खराबी देखिएमा उपचारात्मक पद्धतिमा जानको लागि सुझााव दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारी चालकले राम्रोसँग देख्न सक्छ कि सक्दैन ? ब्लड प्रेसरको चाप कस्तो छ ? स्वंम् चालकले चालाएको सावारी साधनको अवस्था के छ ? भनेर चिकित्सकको टोली र प्राविधिक सहित स्वास्थ्य जाँच र सवारी साधनको यान्त्रिक परीक्षण गराएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एवंम् प्रहरी उपरीक्षक नान्तिराज गुरुङ्गले बताए ।

सडक मैं स्वास्थ्य जाँच हुँने गरेकाले चालकहरु समेत खुसी भएका छन् । ‘हामी अस्पताल गएर लाइनमा बस्नु पथ्र्यो तर, आज सजिलो र छिटो बाटो मैं जाँच भयो’, चालक कृष्ण तिमल्सिनाले भने, ‘यो राम्रो काम हो, सलाम छ ट्रफिक प्रहरीको टिमलाई । यसलाई निरन्तरता दिए हामी आभारी हुँने थियौं ।’

यस्तै चालकहरुको स्वास्थ्य अवस्थामा समस्या हुँदा पनि सवारी दुर्घटना हुँने गरेको, चालकले मादक पदार्थ तथा लागू औषध सेवन गर्ने जस्ता कारणले दुर्घटना निम्त्याउँने, साथै सावारी साधन समयमा मर्मत नगर्ने, सवारी साधनको यान्त्रिकी परीक्षण नगरी चलाउने गर्दा दुर्घटना निम्तन सक्छ भन्दै ट्राफिक प्रहरीले शिविर सञ्चालन गरेको सवारी चालक रबिन्द्र केसीले ट्राफिकलाई धन्यबाद व्यक्त गरे ।

जीतपुरसिमरा उपमहानगरपालिका र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रमलाई विवेक अटोमोवाइल्स् प्रा. लि छाता पिपरा, नेपाल मेडीसिटि वयोधा हसिपटल पर्सा र नेपाल आँखा अस्पताल औराहा बाराको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो । शिविरमा चालकको आँखा परीक्षण, रक्तचाप परीक्षण, सवारी साधनको यान्त्रिक परीक्षण गरिएको थियो ।

यान्त्रिक परीक्षण गर्दा अवस्था ठिक नभएका ३ वटा सवारी साधनलाई ट्राफिकले नियन्त्रणमा लिई तत्कालै नजिकैको ग्यारेजमा मर्मत गर्न पठाईएको थियो। भने, स्वास्थ्य परिक्षण गर्दा ३४ जना चालकमा उच्च रक्तचाप देखिएको मध्य तीन जना चालकमा उच्च रक्तचाप र मधुमेह समेत रहेको हुँदा अर्को सवारी चालक उपलब्ध गराई पठाईएको थियो । यस्तै तीन जना चालकले मापसे गरेको पाईएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);