काठमाडौं । सरकारले सङ्घीय संसद छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको विषयमा छलफल गर्न विपक्षी दलहरूको संयुक्त बैठक आज बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले मध्याह्न १२ बजे सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा उक्त बैठक आह्वान गर्नुभएको हो । बैठकमा संसद अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत राज्य सञ्चालन गर्न खोजेको भन्दै सरकारको कदमप्रति साझा धारणा तय गर्ने र प्रतिवादको रणनीति बनाउने विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।
उक्त बैठकमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेताहरूलाई आमन्त्रण गरिएको छ । संसदलाई उपेक्षा गर्दै अध्यादेश ल्याइनु लोकतान्त्रिक मूल्य–मान्यता विपरित भएको ठहर गर्दै विपक्षी दलहरूले यसको विरोध गर्ने तयारी गरेका छन् । बैठकमा सरकारको पछिल्लो कदमको सशक्त प्रतिवाद कसरी गर्ने र आगामी दिनमा विपक्षी दलहरूको भुमिका कस्तो हुने भन्ने विषयमा विस्तृत छलफल हुने कार्यतालिका रहेको छ ।




