काठमाडाैं । आज अक्षय तृतीया जौको सातु र सर्वत खाएर देशभर मनाइँदैछ । राजधानीका विभिन्न चोक र सार्वजनिक स्थलहरूमा आज बटुवाहरूलाई सातु र सर्वत खुवाउने कार्यक्रमहरू भइरहेका छन् । गुठी र परोपकारी संस्थाहरूले ठाउँ–ठाउँमा शिविर राखेर सेवा दिइरहेका छन् ।
विशेष गरी ज्येष्ठ नागरिक र बालबालिकालाई लक्षित गरी यो सेवा प्रदान गरिएको छ । बैशाखको तातो घाममा सातु र सर्वतले शरीरलाई ऊर्जा र शितलता प्रदान गर्ने वैज्ञानिक कारण पनि छ । पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि विशेष पूजाहरू भइरहेका छन्। अक्षय तृतीयाको दिनलाई सृष्टिको सुरुवातको दिन पनि मानिन्छ ।
त्रेता युगको शुरुवात आजकै दिन भएको पौराणिक मान्यता छ । भक्तजनहरूले पशुपति क्षेत्रमा दान–पुण्यका कार्यहरू पनि गरिरहेका छन् । आजको दिन पशुपतिनाथको दर्शन गर्नाले अनन्त फल प्राप्त हुने जनविश्वास छ । सनातन धर्मावलम्बीहरूका अनुसार आजको दिन सुन वा चाँदीका गहना किन्दा घरमा बरकत र समृद्धि आउने विश्वास गरिन्छ ।
आजको दिनमा गरिएका सत्कर्महरू अक्षय रहने धार्मिक विश्वास छ । दुखी र असहायलाई सातु, पानी र छाता दान गर्नु पुण्यदायी मानिन्छ । नयाँ व्यवसाय वा ठूला लगानी सुरुवात गर्न आजको दिन उत्तम मुहूर्त हो ।





