ऋणले थिचिँदै भूकम्पपीडित | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

ऋणले थिचिँदै भूकम्पपीडित

pidit

सिन्धुपाल्चोक,४ फागुन । भोटेकोसी गाउँपालिकाको तातोपानीका कबोलबहादुर शेर्पाले पहिलो किस्ता अनुदान पाएपछि जग्गा धितो राखे । स्थानीय सहकारीबाट चार लाख ऋण लिए पनि निर्माण सामग्री र कामदार अभावले घर निर्माणलाई तीव्रता दिन सकेनन् । दुईकोठे घरको संरचना झ्यालसम्म पुग्दा उनलाई १४ प्रतिशत ऋणको ब्याजले थिचिरहेको छ ।

‘घर बनाउने काम त गरिंदैछ, ऋण कसरी तिर्ने त्यसकै पिरलो बढी छ,’ उनले भने, ‘पूरै किस्ता लिंदासमेत आवास बनाउन हम्मे पर्‍यो ।’ आर्थिक स्रोत बलियो नभएकै कारण घर बनाउन मुस्किल परिरहेको उनले बताए । सडक सञ्जालले जोडिए पनि निर्माण सामग्री खरिद र ढुवानीदेखि कामदारसम्म महँगो मूल्य चुकाउनुपर्दा शेर्पालाई ऋणको भारीले थिचेको छ ।

शेर्पाको जस्तै पीडा खेपिरहेकी छन्, चौतारा साँगाचोकगढी नगरपालिकाको इर्खुकी शान्ति तामाङ । ‘सरकारले अनुदान दिएकै हो, तर हामी जस्ता गरिबका लागि घर बनाउनु युद्ध बराबरकै काम भयो,’ उनले भनिन्, ‘यो चारकोठे घर बनाउन झन्डै सात लाख खर्च भयो । तामाङले कृषि विकास बैंकमा जग्गा धितो राखेर पाँच लाख ऋण लिएकी छन् ।

यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् । जिल्लाका अधिकांश भूकम्पपीडितले बैंक र सहकारीबाट ऋण लिएर पुनर्निर्माणलाई तीव्रता दिइरहेका छन् । सरकारी मापदण्डको अन्योलताबीच भूकम्पपीडित महँगीका कारण ऋणमा डुबिरहेका छन् । ‘ऋण नपाउने समस्या त छँदैछ, त्यसैमा लिएको रकम तिर्न नसक्ने धेरै छन्,’ सहरी विकास तथा भवन डिभिजन कार्यालयका सूचना अधिकारी टंक गौतमले भने, ‘विपन्न वर्गका भूकम्पपीडितका लागि आवास निर्माण ठूलो चुनौती साबित भएको छ ।’ पुनर्निर्माण प्राधिकरण समन्वय समिति सचिवालयका अनुसार हालसम्म अनुदान सम्झौता गरेका ७५ हजार ७ सय ६५ मा ५३ हजार ९ सय १ भूकम्पपीडितले मात्रै आवास निर्माण सुरु गरेका छन् ।

‘लाभग्राहीमा गुनासो थपेर अहिले ८३ हजार ६ सय ६३ संख्या पुगेको छ,’ पुनर्निर्माण प्राधिकरण समन्वय समिति सचिवालयका प्रमुख रुद्र मल्लले भने, ‘११ हजार ६३ ले आवास निर्माण सकेको पाइएको छ ।’ मल्लले प्राय सबै भूकम्पपीडित आर्थिक समस्यामा रहेको बताए ।
जिल्ला दैवीप्रकोप उद्धार समितिका अनुसार भूकम्पमा सिन्धुपाल्चोकका ९५ प्रतिशत घर कामै नलाग्ने गरी भत्केका थिए । जिल्लामा भूकम्पमा परेर ३ हजार ५ सय ७५ ले ज्यान गुमाएका थिए । सूचीमा छुटेका भूकम्पपीडित थप समस्या झेलिरहेको गाउँमा पुगेका इन्जिनियरले बताए । सरकारी अनुदान नपाएकै कारण उनीहरूले पुनर्निर्माणलाई अगाडि बढाउन सकेका छैनन् । ‘धेरैले डीपीसीभन्दा माथिको संरचना बनाउनै सकेका छैनन् । पुनर्निर्माण थन्किनुले ऋण र महँगीको मारलाई देखाएको छ,’ मल्लले भने, ‘सिन्धुमा पुनर्निर्माण तंग्रिएसँगै भूकम्पपीडित ऋणमा डुब्दैछन् ।’

पुनस् सर्वेक्षणका लागि अहिले १२ जना इन्जिनियर गाउँमा खटाइएको छ । अनुदान उपलब्ध गराएपछि घर बन्ने क्रम भने जारी रहेको जिल्ला पुनर्निर्माण प्राधिकरण जनाएको छ । हालसम्म पहिचान गरिएका ८३ हजार ६ सय ६३ लाभग्राहीमा ७५ हजार ५ सय ५३ ले पहिलो किस्ता लगिसकेका छन् । जसमा ७५ हजार ७ सय ६५ सँग अनुदान सम्झौता भएको थियो । ४४ हजार १ सय ४२ ले दोस्रो किस्ताका लागि सिफारिस गरेका छन् । पाँच हजार ६ सय ९६ ले तेस्रो किस्ताका लागि निवेदन दिएकामा ५ हजार ६ सय १ ले तेस्रो र ४३ हजार ९ सय ८१ को दोस्रो किस्ता प्रमाणीकरण भएको छ । कान्तिपुरमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);