चिसोले भूकम्पपीडित धमाधम बिरामी | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

चिसोले भूकम्पपीडित धमाधम बिरामी

vukampa pidit

बनेपा,१ माघ । भूकम्पको तीन वर्ष बितिसक्दा पनि आवास निर्माण गर्न नसकी टहरामै बस्न बाध्य भूकम्पपीडित चिसो बढेसँगै बिरामी पर्न थालेका छन्। तीन हिउँद टहरामै काटेका पीडित शीत र चिसोले बिरामी पर्नुका साथै विभिन्न समस्यामा परिरहेका हुन्।

त्रिपाल र टिनका अस्थाई टहरामा बसिरहेका भूकम्पपीडित चिसो बढेसँगै निमोनिया, रुखाखोकी, ज्वरो, आउँ, दम र शरीर सुन्निनेलगायत समस्याबाट ग्रसित हुन थालेका छन्। चिसो बढेसँगै वृद्धवृद्धा, बालबालिका, सुत्केरी र रोगीहरू बढी प्रभावित हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका डा. सुरेस चौरसिया बताउँछन्। उनले भने, ‘टहरामा बसेका अधिकांश पीडित चिसोले समस्यामा पर्दै आएका छन्, विषेशगरी दम भएका, सुत्केरी, बालबालिका र वृद्ध चिसो बढेसँगै समस्यामा परेका छन्।

भूकम्पपीडितहरू समयमै अनुदान रकम र सहुलियत ऋण नपाउँदा आवास पुनर्निर्माण गन नसकेको गुनासो गर्छन्। ‘सरकारले न समयमा अनुदान दियो न सहुलियत ऋण नै, सबै कुरा मात्र भयोु, पनौती नगरपालिका १२ की राममाया हुमगाई भन्छिन्, ‘भएको सम्पत्ति सबै घरसँगै स्वाहा भयो, न घर बनाउन सकियो न सरकारको अनुदान र ऋण नै पाइयो। उनले वर्खा जसोतसो काटे पनि जाडो लागेसँगै छाप्राभित्र ओच्छ्यानमा शीत चुहिने र जस्ताको चिसोले साना बालबच्चा र वृद्ध सासुससुरा बिरामी पर्न थालेको बताइन्। ‘उपचार गर्ने पैसा छैनु, उनले दुखेसो पोख्दै भनिन्। पहिलो किस्ताले घरको डीपीसी सकेर दोस्रो किस्ताका लागि बारम्बार ताकेता गरे पनि दुई महिना बित्दासमेत पाउन नसकेको गुनासो गरिन्।

खानीखोला गाउँपालिकाकी ६३ वर्षीया कान्छीमाया तामाङ पनि टहराको चिसोले निमोनिया भएको गुनासो गर्छिन्। ‘गरिब छौं, न आफैं नयाँ बनाउन सक्छौं न सरकारी अनुदान र ऋण पाउँछौ। हामी त मर्नु न बाँच्नु भएका छौुं, उनले भनिन्, ‘छोराछोरी र पतिको आम्दानी केही छैन, नातिनातिना पनि बिरामी पर्न थाले। अहिले घर बनाउन पैसा जुटाउनुभन्दा पनि औषधिमुलो गर्न ऋण खोज्दै हैरान छौं।

टहरामा बसेका अधिकांश विषेशगरी दम भएका, सुत्केरी, बालबालिका र वृद्ध चिसो बढेसँगै समस्यामा परेका छन्।

हुमगाई र तामाङ प्रतिनिधि पात्र मात्र हुन्। तीन वर्षदेखि टहरामा जीवन गुजार्दै आएका जिल्लाका अधिकांश भूकम्पपीडितको व्यथा एउटै छ। बाढी पहिरो, चिसो, हावाहुरी, जंगली जनावरको त्रासमा टहरामै दैनिकी बिताउनु परेको पीडितहरूको गुनासो छ। चिसो बढेपछि धेरैजसो भूकम्पपीडित जोखिम मोलेर भए पनि भूकम्पमा जीर्ण घरमै बस्न थालेका छन्।

जिल्लामा कुल ७२ हजार ७ सय ६३ भूकम्पपीडित लाभग्राही सूचीमा छन्। तीमध्ये ६५ हजार ७ सय ७३ ले पहिलो किस्ता रकम ५० हजार रुपैयाँ बुझेका भए पनि हालसम्म ४ हजार ३ सय ४१ ले मात्र आवास पुनर्निर्माण गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण काभ्रे जिल्ला समन्वय समितिका प्रमुख ध्रुव गैडाले जानकारी दिए। हालसम्म दोस्रो किस्ता लैजाने ११ हजार ३ सय ३७ छन् भने तेस्रो किस्ता लैजाने २ हजार ९ सय ५९ रहेको उनले जानकारी दिए। उनका अनुसार अझै पहिलो किस्ताको रकम लगेका ५५ हजारले घरको जग नै राखेका छैनन्।

भूकम्पपीडित अझै अन्योलमा
सहरी र ग्रामीण क्षेत्रमा आवास पुनर्निर्माणसम्बन्धी एउटै नीतिले गाउँका भूकम्पपीडित समस्यामा परेका छन्। प्राविधिकले नक्सा पास अनिवार्य र डीपीसी, सडक मापदण्डलगायत अन्य झन्झटिला प्रक्रियाका कारण अधिकांश ग्रामीण भूकम्पपीडित अन्योलमा परेका हुन्। ‘सरकार भूकम्प प्रतिरोधी घर बनाउनु पर्छ भन्छ, पीडितले कसरी बनाउलान् भनेर सोचेको छैनु, खानीखोला गाउँपालिकाका देवराज घलान भन्छन्, ‘गाउँघरका र काठमाडौंका भूकम्पपीडितले घर बनाउने पुनर्निर्माण नीति एउटै छ।

उनले सिमेन्ट, बालुवा, रड र इँटा गाउँमा लगेर घर बनाउन आफूजस्ता गरिबलाई सम्भव नभएको बताए। उनले भने, ‘सरकारले माटोको घर बनाउँदा पनि डीपीसी भनेर सिमेन्ट, बालुवा, रडको प्रयोग अनिवार्य गरेको छ, जहाँ यातायातको पहुँच छैन, एक बोरा सिमेन्ट बोकेर लैजान दुई दिन लाग्छ। सहरलाई हेरेर बनाएको मापदण्डले हामी दुर्गमका पीडित मारमा छौं।ु उनले भूकम्पपछि बर्खा, चिसो, गर्मी, हावाहुरी जस्ता विपत्तिमा त्रासैत्रासबीच जीवन गुजार्नु परिरहेको गुनासो गरे।

प्रयोगमा आएन सामूहिक आवास
भूकम्पबाट बढी क्षति भएका जिल्लाका विभिन्न स्थानमा सरकारले निर्माण गरेको सामूहिक आवास भवन प्रयोगविहिन भएका छन्। जिल्ला दैवी प्रकोप उद्धार समिति काभे्रले भूकम्पमा बढी क्षति र जोखिममा रहेका १४ स्थानमा करौडौंको लागतमा सामूहिक आवास निर्माण गरे पनि प्रयोगमा आउन नसकेको हो।

जिल्लाको धुसेनीशिवालय, चौवास, शिखरआम्बोटे, कलाती भूमिडाँडा, च्यार्सिङखर्क, उग्रतारा जनागाल, बल्थली, चलालगणेश स्थान, बालुवापार्टी देउपुर, सिम्थली, र्‍याले, शंखुपाटीचौर, फलामेटार र भीमखोरीमा सामूहिक आवास निर्माण भएको भवन डिभिजन कार्यालय धुलिखेलका प्रमुख अष्टलाल सुवालले जानकारी दिए। उनका अनुसार १० ठाउँमा निर्मित सामूहिक आवास भवन ५ करोड रुपैयाँ लागतमा निर्माण भएको जानकारी दिए।आजको अन्नपुर्णपोष्टमा यस्तो खवर छ ।

ताजा समाचार