थकित आत्माको शुद्धीकरणका लागि विश्वलाई नेपाल आमन्त्रण गराैँ : पर्यटन मन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

थकित आत्माको शुद्धीकरणका लागि विश्वलाई नेपाल आमन्त्रण गराैँ : पर्यटन मन्त्री

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल ध्यानको उद्गम बिन्दु भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा काठमाडौंमा अयाोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

पशुपतिनाथ, लुम्बिनी, जनकपुर धामदेखि मुक्तिनाथसम्म फैलिएको आध्यात्मिक सम्पदा, बहुधार्मिक, बहुसांस्कृतिक परम्परा, भौगोलिक विविधता र प्राकृतिक सौन्दर्य नै जीवित सभ्यताका सशक्त सेतुहरू भएको मन्त्री पौडेलले बताउनुभयो । मन्त्री पौडेलले नेपाललाई विश्व आरोग्य पर्यटनको केन्द्र बनाउने सरकारको नीतिगत प्राथमिकता रहेको जानकारी दिनुभयो ।

सरकारले सन् २०२७ लाई ‘नेपाल वेलनेस ईयर’ (आरोग्य वर्ष) को रुपमा मनाउने घोषणा गरेको र यसलाई आर्थिक रुपान्तरणको एजेण्डाको रुपमा अघि बढाइने बताउनुभयो । उहाँले आरोग्यलाई जीवनशैली र संस्कारकै रुपमा विकास गरिने लक्ष्य राखिएको पनि बताउनुभयो । आरोग्य पर्यटनलाई सफल बनाउन निजी क्षेत्र, शैक्षिक संस्था, संचार क्षेत्र र विश्व समुदायलाई सामूहिक प्रयासका लागि अपिल गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल ध्यानको उद्गम बिन्दु हो जहाँ हजारौं वर्ष अघि ऋषिमुनिहरूले मानव चेतनाको गहिरो विज्ञान पत्ता लगाएका थिए । हाम्रो प्रकृति नै आरोग्यको केन्द्र हो । यो शान्ति, अध्यात्म र आरोग्यको मधुर धुन बजाइरहेको पवित्र भूमि हो । त्यसैले नेपालमा घुम्न मात्र होइन, आफूलाई चिन्न आउनुस् । थकित आत्माको शुद्धीकरण र भौतिकतामा निदाएको चेतनाको जागरणका लागि आउनुस् । थकित आत्माको शुद्धीकरण र भौतिकतामा निदाएको चेतनाको जागरणका लागि नेपाल आउनुस् भनेर हामीले विश्वलाई आमन्त्रण गर्नुपर्छ ।’

नेपाल सरकारको एकल प्रस्तावमा संयुक्त राष्ट्र संघको महासभाबाट पारित भए अनुसार आज अप्रिल १५ लाई विश्वभर अन्तर्राष्ट्रिय आरोग्य दिवसको रुपमा मनाइँदैछ । यो अवसर नेपालका लागि कुटनीतिक र सांस्कृतिक दृष्टिले ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ । महासभामा उक्त प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन जनाउने सबै मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै मन्त्री पौडेलले यस दिवसले विश्वभरका मानिसहरूलाई स्वस्थ जीवनशैली अपनाउन र मानसिक स्वास्थ्यको संरक्षण गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार विश्वमा १ अर्बभन्दा बढी मानिसहरू मानसिक स्वास्थ्य समस्या र तनावले ग्रस्त छन् । यस्तो अवस्थामा नेपालले मौनता, हिमाल, प्राचीन उपचार पद्धति र जीवित परम्पराहरू प्रदान गर्नसक्ने मन्त्री पौडेलको भनाइ छ।

Leave a Reply