काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय सभाका सांसद शुरेशकुमार आलेमगरले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ । आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले संगठनहरू खारेज गर्ने निर्णय पञ्चायतकालीन निरंकुश तानाशाही व्यवस्थाको झल्को दिएको जिकिर गर्दै तत्काल सो निर्णय खारेज गर्न सरकारलाई सचेत गराउनुभयो ।
सांसद आलेमगरले कुनैपनि राजनीतिक दलमा संगठनहरु आवद्ध हुने कुरा संविधान र कानूनसम्मत हुने भएकाले सरकारले त्यसलाई प्रतिबन्ध लगाउने काम गर्न नमिल्ने तर्क समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो सरकारले विभिन्न दलमा आवद्ध विद्यार्थी संगठनहरुलाई प्रतिवन्ध लगायो भन्ने कुरा विभिन्न सञ्चार माध्याममा आएको छ । बहुदलीय व्यवस्थामा राजनीतिक विचारका आधारमा विभिन्न दलहरु गठन हुन्छन् । ती दलहरुमा विभिन्न संगठनहरु आवद्ध हुन सक्छन् । यो विल्कुल लोकतान्त्रिक कुरा हो । यो लोकतान्त्रिक अभ्यास हो । यो कुनै गैरकानूनी, असंवैधानिक आपत्तिजनक कुरा होइन । त्यसैले, यो सरकारले जुन प्रतिवन्ध लगाएको छ विद्यार्थी संगठनहरुमाथि । यसलाई फिर्ता गरिनुपर्छ । सरकारको यो निर्णयले कतै निरंकुश तानाशाही व्यवस्था, जसलाई नेपाली जनताले ३६ वर्ष अगाडि आर्यघाटमा सेलाएका थिए । त्यो व्यवस्थाको पुनरागमन भएको त होइन ? मलाई त्यस्तो त लाग्दैन । यो सरकार लोकतान्त्रिक हो भन्ने मलाई लाग्दछ । यदि त्यस्तो हो भने विद्यार्थी संगठनमाथि प्रतिवन्ध लगाउने यो निर्णय नेपाल सरकारले तुरुन्त खारेज गरोस् । फिर्ता लिइयोस् ।’
सांसद आलेमगरले बहुदलीय व्यवस्थामा दलहरु छान्ने अधिकार जो कोहीलाई पनि हुन्छ भन्ने कुरामा सरकारले हेक्का राख्नुपर्ने समेत बताउनुभयाे ।





