काठमाडाैं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद राष्ट्रिय राजनीतिको ऐना भएको उल्लेख गर्दै लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ सभामुख र संसदले जिम्मेवार भुमिका खेल्नुपर्ने बताउनुभएको छ । उहाँले संसद विभिन्न विचारधाराको संगमस्थल भएकाले मतभेद, विवाद र तिक्तता देखिनु स्वाभाविक भएपनि ती सबै प्रक्रियाबाट निष्कर्षमा पुग्नु नै लोकतन्त्रको सौन्दर्य भएको उल्लेख गर्नुभयो ।
जेष्ठ सदस्य केसीले सभामुखको निर्वाचनअघि संसद सञ्चालन गर्दा आफू तटस्थ, प्रभावकारी र निर्विघ्न बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । केसीले बिहीवारको (आजको) बैठक विवादरहित रुपमा सञ्चालन गर्ने विषयमा सबै राजनैतिक दलहरु प्रतिवद्ध रहेको विश्वास समेत व्यक्त गर्नुभयो । संसद राष्ट्रिय राजनीति र संस्कृतिको प्रतिविम्व भएको उल्लेख गर्दै केसीले त्यसको संरक्षक सभामुख हुने बताउनुभयो । लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय सार्वभौमिकताको संरक्षणका लागि संसद र सभामुखले निरन्तर सक्रिय भुमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले संविधानको रक्षा र नेपाली जनताको सर्वोच्चताको सुरक्षाको पक्षमा सरकारले गर्ने काममा संसदका सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताउनु भयो । मुलुक र जनताको हितमा गरिने काममा सहयोग गर्नु र कमिकमजोरी हुँदा सिर्जनात्मक आलोचना गर्नु नै लोकतन्त्रको मुल मर्म भएको उहाँको बुझाइ छ । उहाँले संख्यात्मक शक्तिभन्दा पनि संविधानको रक्षा, जनताको सर्वोच्चता, स्वाभिमान, सम्मान र समृद्धिलाई केन्द्रमा राखेर सरकार सञ्चालन हुनुपर्ने समेत बताउनुभयो ।
उहाँले वर्तमान सरकार जनताको उर्लंदो आकंक्षाको प्रतिनिधित्व गर्दै गठन भएको उल्लेख गर्दै अस्थिरता निम्तिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा समेत राख्नुभयो । केसीले स्थिर सरकार, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण अहिलेको प्रमुख आवश्यकता भएको भन्दै नीतिगत रुपमा हुने भ्रष्टाचार अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि विधि र प्रक्रिया पालना अपरिहार्य रहेको उल्लेख गर्दै आग्रह–पूर्वाग्रहका आधारमा कारबाही गर्दा विधिहीनता निम्तिने चेतावनी पनि दिनुभयो ।
सभाको ज्येष्ठ सदस्य भएको हैसियतले केसीले नै प्रतिनिधि सभाको बिहीवारको (आजको) बैठक सञ्चालन गर्नुहुनेछ । उहाँले सभामुखको निर्वाचन नहुँदासम्म प्रभावकारी रुपमा सभामुखको भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।





