एजेन्सी, ३ फागुन । दक्षिण अफ्रिकाका राष्ट्रपति जेकोब जुमाले पदबाट राजीनामा दिएका छन । आफ्नै एएनसी पार्टीभित्रबाट चर्को दबाब आएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति जुमाले पदबाट राजीनामा दिएका हुन । उनले टेलिभिजनमा सम्बोधन गर्दै राजीनामाको घोषणा गरे ।
राजीनामासँगै जुमा युगको अन्त्य भएको छ । सम्बोधनका क्रममा जुमाले आफूले गल्ती गरेको स्वीकार्दै कोही पनि पूर्ण नहुने बताए । सन् २००९ देखि सत्तामा रहेका जुमामाथि भ्रष्टाचारसहितका कैयौँ आरोप लगाइएको थियो । ७५ वर्षीय जुमामाथि उपराष्ट्रपति एवं पार्टी सभापति सिरिल रामापोसालाई सत्ता हस्तान्तरण गर्न पार्टीभित्रैबाट दबाब आएको थियो ।
पद त्यागेपछि सेवा, सुविधा गुम्ने डर आफूमा भएको दाबीको खण्डन गर्दै उनले महाभियोग र अविश्वासको प्रस्ताव ल्याउने धम्कीबाट आफूलाई डर नलागेको बताए । सत्तारूढ एएनसी पार्टीले राजीनामा दिन अथवा सदनमा महाभियोगको सामना गर्नका लागि तयार रहन जुमालाई चेतावनी दिएको थियो ।




