३ मुख्यमन्त्री नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

३ मुख्यमन्त्री नियुक्त

3 mantri

काठमाडौँ,३ फागुन । प्रदेश १, २ र ५ मा बुधबार मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश १ मा एमालेका शेरधन राई, २ मा संघीय समाजवादी फोरमका मोहम्मद लालबाबु राउत गद्दी र ५ मा एमालेकै शंकर पोखरेल नियुक्त भएका हुन् ।

नवनियुक्त मुख्यमन्त्रीहरूले शपथसँगै सुरुमा ३ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । प्रदेश ३ र ४ मा यसअघि नै मुख्यमन्त्री नियुक्त भइसकेका छन् भने प्रदेश ७ मा माओवादी केन्द्रका त्रिलोचन भट्टले बुधबारै मुख्यमन्त्रीको दाबेदारी पेस गरेका छन् । उनलाई बिहीबार नियुक्तिपत्र दिई शनिबार शपथ दिलाउने तयारी छ । प्रदेश ६ मा भने माओवादी केन्द्रको सहमतिविपरीत एमालेले आलोपालोको सर्त राखेपछि मुख्यमन्त्री नियुक्ति हुन सकेको छैन । बुधबार दुई दलका दाबेदारबीच वार्ता भए पनि सहमति जुटेन ।

प्रदेश १ मा एमाले संसदीय दल नेता राईलाई प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले मुख्यमन्त्रीको नियुक्ति दिए । प्रदेश कार्यालयले बिहीबार ३ बजे वीरेन्द्र सभागृहमा राईलाई मुख्यमन्त्रीको शपथ दिलाउने कार्यक्रम राखेको छ । बिहीबारै पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी छ । मुख्यमन्त्री नियुक्त भएपछि राईले भ्रष्टाचार शून्यमा झार्ने र सुशासन कायम गर्ने बताए ।
प्रदेश १ को उपसभामुखमा सरस्वती पोखरेल निर्विरोध निर्वाचित भइन् । मुख्यमन्त्री र सभामुख एमालेको भागमा परेको यो प्रदेशमा उपसभामुख माओवादी केन्द्रबाट चुनिएको हो । पोखरेल माओवादी पोलिटब्युरो सदस्य हुन् । सभामुखमा यसअघि नै प्रदीपकुमार भण्डारी निर्वाचित भइसकेका छन् ।

प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले संघीय समाजवादी फोरम संसदीय दलका नेता मोहम्मद लालबाबु राउत गद्दीलाई बुधबार मुख्यमन्त्री नियुक्त गरे । मुख्यमन्त्री राउतले बिहीबार प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण गर्नेछन् । राष्ट्रिय जनता पार्टीको सहयोगमा प्रदेशसभाको बहुमत जुटाएका राउत मुख्यमन्त्री भएका हुन् । उनले प्रदेश २ लाई नमुना बनाउने प्रतिबद्धता जनाउँदै सुशासन र विकास पहिलो प्राथमिकता हुने बताए । प्रदेश २ को प्रदेशसभा बैठकले बुधबारै राजपाका सरोजकुमार यादवलाई सभामुख निर्वाचितगरेको छ ।

प्रदेश ५ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता शंकर पोखरेल बुधबारै नियुक्त भए । प्रदेश प्रमुख उमाकान्त झाले उनलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्रीको शपथ बिहीबार सडक डिभिजन कार्यालय बुटवल परिसरमा हुनेछ । पोखरेलले बिहीबार नै ३ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । प्रदेश ५ को दोस्रो बैठकले बुधबारै पूर्वी रुकुमका सांसद पूर्णबहादुर घर्तीलाई सभामुखमा निर्विरोध निर्वाचित गरेको छ । सभामुख पदमा अन्य कसैको उम्मेदवारी नपरेकाले बैठकले घर्तीलाई निर्वाचित गरेको हो ।

प्रदेशसभाको ठूलो दल एमालेले मुख्यमन्त्री आलोपालोको सर्त अघि सारेपछि प्रदेश ६ को सरकार गठन भने हुन सकेन । एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताबीच पटकपटक संवाद भए पनि कुरा मिल्न सकेन । प्रदेशसभाको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३० दिनभित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधान भए पनि यहाँ नेतृत्व विवादले अन्योल बढेको छ । मुख्यमन्त्री नियुक्ति ढिलाइले प्रदेश सरकार गठन प्रक्रिया अवरुद्ध भएको हो ।

प्रदेश प्रमुखको कार्यालय बुधबार अबेरसम्म मुख्यमन्त्री नियुक्तिको दाबीसहित पत्रको पर्खाइमा थियो । तर, संयुक्त सरकार निर्माणको पहल गरिरहेका दुवै दलबीच कुरा नमिल्दा सांसदहरूको हस्ताक्षरसहितको प्रस्ताव प्रदेश प्रमुखसमक्ष पुग्न सकेन । माओवादी केन्द्रका १३ जना सांसदले ‘प्रदेशसभा सदस्य महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री नियुक्त गरिपाउँ’ भन्ने व्यहोराको पत्रमा हस्ताक्षर गरिसकेका छन् । पार्टी केन्द्रले प्रदेश ६ को सरकारको नेतृत्व माओवादी केन्द्रलाई दिने निर्णय गरेको छ । उक्त निर्णयमा फरक मत राख्दै आएको एमाले प्रदेश कमिटीले पछिल्लो पटक केन्द्रमा झैं प्रदेशमा पनि सरकारको नेतृत्व आलोपालो गर्न सर्त अघि सारेको हो । एमालेको यो सर्त मान्न माओवादी केन्द्र भने तयार छैन । वाम कार्यदलले टुंग्याएर दुवै दलका शीर्ष नेताले अनुमोदन गरिसकेको विषयमा आफूले सच्याउन नसक्ने माओवादी केन्द्रको भनाइ छ ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश ६ का कार्यकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्न आलोपालोको प्रस्ताव गरिएको बताए । ‘केन्द्रमा पार्टी एकता हुँदैछ । त्यहाँ आलोपालो गर्ने सहमतिको चर्चा सार्वजनिक भएको छ,’ उनले भने, ‘प्रदेशमा पनि माओवादी केन्द्रको लिडरसिपले प्रदेश एमाले कार्यकर्ताको भावना बुझ्नुपर्छ ।’

एमाले नेता कँडेल र माओवादी केन्द्रका नेता शाहीबीच पछिल्लो पटक बुधबार दिउँसो पनि असफल वार्ता भएको थियो ।
प्रदेश ७ को पहिलो मुख्यमन्त्री पदका लागि माओवादी केन्द्रका त्रिलोचन भट्टले वाम गठबन्धनका ३७ जना प्रदेशसभा सदस्यहरूको दस्तखतसहितको पत्र बुधबार प्रदेश प्रमुख मोहनराज मल्लसमक्ष पेस गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा बिहीबार भट्टलाई मुख्यमन्त्री नियुक्त गरी शनिबार शपथ गराउने कार्यक्रम छ । मुख्यमन्त्रीका लागि प्रस्तावित भट्टसँगै माओवादी केन्द्र र एमाले दुवै दलबाट कम्तीमा ३ जना मन्त्रीसहित सोही दिन सरकारमा पठाउने आन्तरिक तयारीमा छन् ।
मुख्यमन्त्री र सभामुखको चयन भइसकेपछि अहिले दुवै दलका नेताबीच मन्त्री हुने होडबाजी तीव्र छ । ५३ सदस्यीय प्रदेशसभामा एमालेका २५ र माओवादी केन्द्रका १४ सांसद छन् । दुवैतर्फका केहीबाहेक अधिकांश सांसद मन्त्रीका आकांक्षी देखिएका छन् ।

प्रदेश ४ को सभामुखमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नेत्रनाथ अधिकारी चयन हुने पक्का भएको छ । बिहीबार हुने सभामुखको निर्वाचनका लागि बुधबार प्रदेशसभा सचिवालयमा अधिकारीको मात्रै मनोनयन दर्ताभएपछि उनी सभामुख हुने निश्चित भएको हो ।
प्रदेशसभाको बिहीबार हुने बैठकले उनलाई निर्विरोध सभामुख चयन भएको घोषणा गर्नेछ । माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान प्रस्तावक र एमाले नेता किरण गुरुङ समर्थकसहित अधिकारीले सभामुखमा मनोनयन दर्ता गरेका थिए । सभामुखसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई शुक्रबार बिहान साढे ९ बजे प्रदेश प्रमुख बाबुराम कुँवरले शपथ खुवाउने कार्यक्रम छ ।

यो प्रदेशमा मुख्यमन्त्री एमाले र सभामुख माओवादीले पाउने सहमतिअनुसार अधिकारीलाई माओवादी केन्द्रले गत शुक्रबार सभामुख बनाउने निर्णय गरेको थियो । सहमतिअनुसार एमाले नेता पृथ्वीसुब्बा गुरुङ सोमबारै मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । आजको कान्तिपुर दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);