नेपाल–कतार सहकार्यलाई दिगो र लाभदायक बनाउनुपर्छः परराष्ट्रमन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

नेपाल–कतार सहकार्यलाई दिगो र लाभदायक बनाउनुपर्छः परराष्ट्रमन्त्री शर्मा

काठमाडौं ।

परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपाल र कतारबीचको सहकार्यलाई दिगो, दीर्घकालीन र पारस्परिक रूपमा लाभदायक बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । मंगलवार मन्त्री शर्मासँग कतार चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदेलीको नेतृत्वको प्रतिनिधिमण्डलले गरेको भेटवार्तामा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको विश्व परिवेशमा एक्लै अघि बढेर लक्ष्य हासिल गर्न कठिन हुने उल्लेख गर्दै आपसी सहकार्य अपरिहार्य रहेको बताउनु भयो । उहाँले निजी क्षेत्र आधुनिक अर्थतन्त्रको मुख्य इन्जिन भएको बताउनु भयो । मन्त्री शर्माले कतारी निजि क्षेत्रका प्रतिनिधिहरुलाई नेपालमा लगानीको लागि पनि आग्रह गर्नुभयो । उहाँले कतारको विकास अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने उल्लेख गर्दै दुवै देशका लागि लाभदायक र दीर्घकालीन सहकार्यका क्षेत्र पहिचान गरी संयुक्त रूपमा लगानी गर्न सकिने बताउनु भयो ।

कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदेलीले नेपाल–कतार सहकार्यलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमार्फत अघि बढाउन सकिने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा कतारको अनुभव, रणनीतिक विश्व साझेदारहरू र उपलब्ध अवसरहरूलाई गहिरो रूपमा बुझेर सहकार्यलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउनु भयो । अलोबैदेलीले राजनीति र निजी क्षेत्रलाई उत्प्रेरकका रूपमा प्रयोग गर्दै दुवै देशबीचको सम्बन्ध थप सुदृढ बनाउन सकिने उल्लेख गर्नुभयो । साथै, दुवै देशका चेम्बर अफ कमर्स तथा व्यापार परिषद्लाई सक्रिय बनाइने जानकारी दिनुभयो । कतार चेम्बर विश्वव्यापी रूपमा बलियो नेटवर्किङ प्लेटफर्म रहेको उल्लेख गर्दै उहाँले हरेक वर्ष ३५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलहरू कतार आउने जानकारी दिनुभयो । अलोबैदेलीका अनुसार कतार अहिले ऊर्जा, पर्यटन र प्रविधिजस्ता नयाँ क्षेत्रमा पनि लगानी गर्न ईच्छुक रहेको बताउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल भ्रमणमा आएको कतारी प्रतिनिधिमण्डलले मंगलबार नै अर्थमन्त्री रामेश्वर खनाल र नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग पनि भेटवार्ता गरेको छ । भेटवार्तामा नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ प्रणाली तथा लगानी सम्भावनाका विषयमा छलफल भएको थियो । सो अवसरमा कतारी प्रतिनिधि मण्डलले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भएमा कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार रहेको बताएका छन् । उक्त अवसरमा नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अली अल अन्सारी र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको सहभागिता रहेको थियो ।

Leave a Reply