काठमाडाैं । स्थानीय बजारमा सुन र चाँदीको भाउ निरन्तर उकालो लाग्दै आज पनि नयाँ कीर्तिमान कायम भएको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ हजार २ सय रुपैयाँले बढ्दै ऐतिहासिक उच्च विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन सुन प्रतितोलामा ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि अघिल्लो दिन पनि सुनको भाउ प्रतितोला २ हजार ४ सय रुपैयाँले वृद्धि हुँदै ३ लाख ३ हजार ८ सय रुपैयाँमा पुगेको थियो । लगातार दुई दिनमै सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्नु, अर्थतन्त्रमा देखिएको उतारचढाव तथा अमेरिकी डलरको भाउ समेत बृद्धि भैरहेकोले त्यसकै प्रभाव नेपाली बजारमा परेको यस क्षेत्रका जानकारहरुको भनाई छ । यसैबीच आज चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम गरेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २८५ रुपैयाँले बढ्दै ६ हजार ७ सय ६५ रुपैयाँ कायम भएको छ । चादीँको भाउमा देखिएको बृद्धि पनि हालसम्मकै उच्च रहेको महासँघले जनाएको छ । सुन र चाँदीको मूल्यमा भएको तीव्र वृद्धिले गहना व्यवसाय प्रभावित भएको व्यवसायीहरुको भनाई छ । बढ्दो मूल्यका कारण ग्राहकको माग घट्ने र कारोबार सुस्ताउने अवस्था देखिएको छ । यद्यपि लगानीका रूपमा सुनप्रतिको आकर्षण भने बढ्दै गएको छ ।





