काठमाडाैं । नेपाली काँग्रेसको हालको अवस्थालाई लिएर नेकपा एमालेका नेताहरूले चासो व्यक्त गरेका छन् । विशेष महाधिवेशनबाट गगन थापा पक्षले नयाँ नेतृत्व चयन गरेसँगै काँग्रेस विभाजित भएको छ । निर्वाचन आयोगले थापा पक्षलाई आधिकारिकता दिएसँगै यसले आगामी निर्वाचनमा ठूलो प्रभाव पार्ने विश्लेषण गरिएको छ ।
काँग्रेसको हालको स्थितिबारे एमाले उपमहासचिव योगेशकुमार भट्टराईले विभाजनसम्बन्धी विवादलाई कानूनी र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्न सकिने बताउनुभयो । उहाँले अदालत जान सबै खुला रहेको र अदालतमा आफूलाई ठिक नलागेपछि उजुरी लिएर जान सकिने बताउनुभयो ।
यता, एमाले उपाध्यक्ष रघुजी पन्तले काँग्रेसको यो फुटलाई देश, जनता र लोकतन्त्रका लागि नकारात्मक भएको बताउनुभयो । देश जनता र लोकतन्त्रको लागि अहिलेको अवस्थामा काँग्रेस फुट्नु सुखद् कुरा नभएको उहाँको भनाइ छ ।
निर्वाचन आयोगले शुक्रवार गगन थापा पक्षलाई पार्टीको आधिकारिकता प्रमाणित गरेको छ । तर संस्थापन पक्षले भने निर्वाचन आयोगले एकलौटी रुपमा निर्णय गरेको र आफूहरु सर्वोच्च अदालतमा उजुरी लिएर जाने बताएको छ ।





