काठमाडाैं । तत्कालीन प्रधानमन्त्री केपी ओलीले भदौ २४ मा सेना परिचालन गर्न चाहेको बयान दिनु भएको छ । आइतबार २३ र २४ भदौको घटना सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगलाई दिएको लिखित बयानमा ओलीले
सेना परिचालन गर्न चाहेको उल्लेख छ । बयानमा ओलीले आफूले सुरक्षा निकायबाट भरपर्दो सहयोग नपाएको पनि उल्लेख गर्नुभएको छ ।
बिनाकुनै योजना एकै पटक र कम समयमा यत्रो क्षति पुर्याउन सम्भव नहुने भन्दै योजनाबद्ध घटना भएको दाबी ओलीको छ । ओलीले २४ भदौमा आफूमाथि नियोजित रूपमा आक्रमणको प्रयास भएको दाबी गर्नुभएको छ ।
ओलीले गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघिपछि सामाजिक सञ्जालबाट धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष
प्रतिवेदन आउनेमा आशंका रहेको शुरुदेखि नै भन्दै आएको र अहिले पनि यही अडानमा रहेको लिखित जवाफमा पनि उल्लेख छ । उहाँँले घटना किन भयो र यसका पछाडि कुन–कुन शक्तिको हात छ त्यसको खोजीनीति र स्पष्ट हुनुपर्ने माग आयोगसमक्ष गर्नुभएको छ ।
ओलीले सामाजिक सञ्जाल बन्द गर्नुको कारणमा सर्वोच्च अदालतले फैसला गरिसकेको विषय भएको र देशभित्र विदेशी कम्पनीहरूले कर नतिर्नेदेखि नियमनसम्म नगरी चलाउने गरेकाले त्यसो गर्न हुने असल मनसाय रहेको बताउनु भएको छ नयाँ बानेश्वर पुगेर संसद् भवन तोडफोड गर्ने काममा संलग्न भएका व्यक्तिहरू आन्दोलनकारी नभई घुसपैठ भएको ओलीको भनाइ छ ।
आइतबार नै ओलीले राष्ट्रिय मानवअधिकार आयोग पुगेर घटनाबारे साढे दुई घण्टा लामो बयान पनि दिनु भएको छ । ओली मानवअधिकार आयोगमा बयान दिन जाने तयारी गर्दै गर्दा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगको टोली ‘बयान दिन’ आग्रहसहितको पत्र लिएर ओली निवास गुन्डु पुगेको हो ।





