काठमाडाैं । निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्दसूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ । आयोगका तथ्याङ्क शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरका अनुसार पुस १६ गतेदेखि २० गतेसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातहरूको जाँच गरिएको हो ।
रुजु गर्नेक्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई आईतवार साँझसम्म पत्रमार्फत जानकारी गराइने उहाँले जानकारी दिनुभयो । कागजात नपुगेका, उमेर नपुगेका लगायतका सबै त्रुटी छुट्याएर दलहरूलाई सच्याउन पठाइने उहाँले बताउनुभयो । उहाँका अनुसार २१ गतेदेखि २७ गतेसम्म दलहरूले त्रुटी सच्याएर पुनः बन्दसूचि पेश गर्न पाउनेछन् ।
अन्तिम सूची सार्वजनिक हुनुअघि सम्बन्धित उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिनसक्ने उहाँले बताउनुभयो । समानुपातिक सूचिमा रहन नचाहने उम्मेदवारले २८ गते उम्मेदवारी फिर्ता लिन पाउनेछन् । त्यसको जानकारी पनि आयोगले सम्बन्धित दललाई दिने उहाँले बताउनुभयो । दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली स्थानमा नयाँ उम्मेदवार सिफारिस गरेपछि तयार हुने अन्तिम बन्दसूचिलाई निर्वाचन आयोगले सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो ।
फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरुले पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची पेश गरेका थिए ।





