काठमाडाैं । नेपाली हस्तकला, संस्कृति र समकालीन फेसनको अनौठो मिश्रण प्रश्तुत गर्ने ‘बाटिक शो ः द फ्युजन एडिसन २०२५’ आयोजना भएको छ । इम्पावर इभेन्ट्सद्वारा क्यूरेटेड यो कार्यक्रमले नेपाली परम्परागत बाटिक शैलीलाई आधुनिक फेसनसँग जोडेर नयाँ आयाम दिने प्रयास गरेको छ । कार्यक्रममा नेपालका चर्चित मोडलहरू नीति शाह, सनिशा भट्टराई, प्रेमा लाम्गादेसहित अन्य धेरै सेलिब्रेटी व्यक्तित्वहरूले र्याम्पमा आफ्नो प्रस्तुति दिएका थिए । बाटिकका रंगीन र जटिल डिजाइनहरूले सजिएका पहिरनहरूले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो । यो शोले नेपाली हस्तकलालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने र युवा पुस्तालाई परम्परागत कला प्रतिको आकर्षण बढाउने लक्ष्य राखेको आयोजकहरूले बताएका छन् । बाटिक शोले नेपाली ढाका कपडाहरूलाई फ्युजन स्टाइलमा प्रश्तुत गरेको थियो । जसमा आधुनिक कट र डिजाइनहरूको समिश्रण देख्न सकिन्थ्यो । यस्ता फ्युजन फेसन शोहरूले नेपालको सांस्कृतिक धरोहरलाई जीवन्त राख्न महत्वपूर्ण भुमिका खेलिरहेका छन् । यो इभेन्टले नेपाली फेसन उद्योगलाई नयाँ उचाई दिने विश्वास गरिएको छ ।

तस्बिरहरु : न्युज एजेन्सी नेपाल





