काठमाडाैं । हिमाली जोखिमबाट पर्वतारोहीलाई जोगाउन ‘माउण्टेन फस्र्ट एड ट्रेनिङ’ (प्राथमिक उपचार पद्धति) सिकाइएको छ । पर्वतारोहण तथा पदयात्राका क्रममा हुनसक्ने चोटपटक, हाइपोथर्मिया, उचाईजन्य रोग र महिला स्वास्थ्यसँग जोडिएका आकस्मिक जटिलताबाट बचाउन ‘माउण्टेन फर्स्ट एइड ट्रेनिङ’ दिइएको हो ।
नेपाल पर्यटन बोर्ड र संयुक्तराष्टसंघीय विकास कार्यक्रम युएनडिपीको सह लगानीमा सञ्चालित दिगो पर्यटन परियोजना अन्र्तगत सञ्चालित प्राथमिक उपचार तालिममा हिमाली क्षेत्रमा पदयात्राका क्रममा आउन सक्ने समस्याको तत्काल सम्बोधन गर्ने उपायबारे प्रशिक्षण गरिएको छ । तालिमले हिमाली क्षाेत्रमा महिला गाइडको सहभागिता बढाउदै आत्मनिर्भर बनाउन सहयाेग पुग्ने इन्भायरोमेण्टल एजुकेशन प्रोजेक्ट (किप) का व्यवस्थापक तारादत्त जोशीले बताउनुभयाे । तालिमले उच्च हिमाली क्षेत्रमा प्राथमिक उपचारको व्यावहारिक ज्ञान प्रदान गर्नेछ ।
तालिममा पर्यटक गाइडका रूपमा काम गर्ने १९ जना महिला सहभागी छन् । किपका व्यवस्थापक जोशीले तालिमले पर्वतारोही महिलाको आत्मनिर्भरता र स्वास्थ्य सुरक्षाको क्षमता बढाउने बताउनु भयो । उहाँले पर्वतारोहणका क्रममा स्वास्थ्य समस्या भइहालेमा के गर्ने भन्ने विषयमा जानकारी नहुँदा मान्छेको मृत्यु नै हुने अवस्था भएकाले तालिमले जाेखिम न्युनिकरण गर्न सहयाेग पुग्ने बताउनुभयाे । तालिमले गाइडहरूको जीवनरक्षा गर्न प्रभावकारी हुने उहाँको विश्वास छ ।
तालिममा सहभागी मिना शेर्पाले गाइडहरूलाई जिम्मेवार बनाउने र आपतकालीन अवस्था व्यवस्थापन गर्न तालिम प्रभावकारी भएको बताउनु भयो । अस्पताल पु¥याउनु अघि गरिने प्राथमिक उपचारले पर्वतारोहण पदयात्रा र उच्च हिमाली क्षेत्रमा हुने आपतकालीन स्वास्थ्य समस्याको जोखिम कम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिमले पर्वतारोहण र पदयात्रामा संलग्न महिलाहरूको सुरक्षालाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।





