काठमाडाैं । प्लेअफमा पुग्न असफल डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सका कप्तान निकोल लफ्टी इटनले ब्याटिङ राम्रो गर्न नसक्नु र क्याच छाड्नुले खेल हारेको बताए । लुम्बिनी लायन्ससँग हारसककंगै प्लेअफ सम्भावनाबाट बाहिरिएपछि जनकपुरका कप्तान लफ्टीले आजको खेलमा राम्रो ब्याटिङ गर्न नसकिएको बताएका हुन् ।
उनले १० देखि १५ ओभरका बीचमा धेरै डट बल धेरै व्यहोर्नुले ठूलो योगफल बनाउन नसकिएको उल्लेख गरे । साथै बलिङबाट जित्न सक्ने भए पनि क्याच छाड्दा दबाब भएको उल्लेख गरेका छन् । संगित कुरे र मायान यादवको ब्याटिङले सम्मानजनक योगफल बनाए पनि दोस्रो इनिङमा पनि राम्रो गर्न नसकिएको लफ्टीको भनाइ छ ।
खराब नतिजा आउँदा पनि टोलीमा विश्वास थियो : कप्तान रोहित
प्लेअफमा पुगेपछि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले खराब नतिजा आइरहँदा आफ्नो टोलीप्रति विश्वास रहेको र आज महत्वपूर्ण क्षणमा सबैले राम्रो गर्दा सफलता पनि मिलेको बताएका छन् ।
जनकपुर बोल्ट्समाथि जितसँगै प्लेअफमा पुगेपछि लुम्बिनीका कप्तान रोहितले गत सिजन लिगको अन्तिम रहेकाले यसपल्ट आफूहरूलाई प्रमाणित गर्नुपर्ने भएकाले यो सफलता भावुक क्षण रहेको बताए । यस प्रतियोगिता अप एन्ड डाउन भइरहेको पनि उनले उल्लेख गरे । तर, खराब नतिजापछि पुनरागमन गर्नुले टोलीमा राम्रो आत्मविश्वास देखिएको उनको भनाइ छ । आजको खेलमा जेजे स्मित, डार्सी र डिकवेलले ब्याटिङमा र बलिङमा पनि राम्रो भएको कप्तान रोहित बताउँछन् । उनले यही आत्मविश्वास लिएर प्लेअफमा खेल्ने लक्ष्य व्यक्ति गरेका छन् । सहज रूपमा खेल जित्नुपर्ने भए पनि सन्दीप जोरा र आफ्नो विकेटपछि टोलीमा दबाब परेको उनको भनाइ छ । तर, स्मितको सटले खेलमा फर्किएको उनले उल्लेख गरे ।
फिल्डमा जनकपुर असहज हुँदा पनि आफूहरूलाई सहज भएको उनी बताउँछन् । क्षमता अनुरूप ब्याटिङमा गर्न सके प्लेअफ सुखद बन्ने उनको विश्वास छ । तर, बलिङमा पनि राम्रो भइरहेको र त्यही लय जारी रहँदा सहज हुने कप्तान रोहितको आशा छ । नकआउट खेलमा दुवै टोलीमा समान दबाब हुने र जसले त्यसलाई सहज रूपमा सामना गर्न सक्छ त्यसले नै जित्नको कप्तान रोहितको भनाइ छ । साथै उनले प्लेअफमा पुग्ने टोलीमध्ये लुम्बिनी नै सबैभन्दा बलियो रहेको दाबी गरेका छन् । नेपाली खेलाडीबाट अहिलेसम्म राम्रो प्रदर्शन हुन नसके पनि प्लेअफमा राम्रो संकेत देखिने उनको विश्वास छ ।





