काठमाडाैं । चालु आ.व.मा हालसम्म २ हजार ८८ वटा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु भएको छ । शुक्रबार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवक कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।
आर्थिक वर्ष ०७९–०८० मा १० हजार ६ सय ७५, आ.व.०८०–०८१ मा ८ हजार ८ सय ८१ र आ.व. ०८१–०८२ मा ७ हजार १ सय ६९ दुर्घटना भएको प्रहरीले जनाएको छ । कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडक दुर्घटनाको संख्या वर्षेनी घट्दै गएपनि मृत्युदर बढिरहेको बताउनुभयो ।
सडक दुर्घटनाका कारण मृत्युदर ७.३४ प्रतिशत बढेको जानकारी दिनुभयो । सबैभन्दा धेरै दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको उहाँले बताउनुभयो । तिब्र गति, लापरवाही, मादक पदार्थ सेवन गर्ने, नियमको पालना नगर्ने, क्षमता भन्दा बढी यात्रुहरु राख्ने, आफ्नो गाडीको नियमित रुपमा मर्मतसम्भार नगर्ने कारणले पनि धेरै दुर्घटना भएका छन् । महिनामा माघ र फागुन र बारमा शुक्रवार र बुधवार बढी दुर्घटना हुने गरेको प्रहरीको तथ्यांक छ । बढी दुर्घटना हुनेमा दुई पाङ्ग्रे सवारीसाधन रहेको बताउनुभयो ।
उहाँले रात्रीकालीन समयमा दुर्घटना बढेकाले काठमाडौं उपत्यकासमित विभिन्न स्थानमा तिब्र गति न्यूनीकरणमा लागेको बताउनुभयो । जेन–जी आन्दोलनका कारण प्रहरी कार्यालयहरु जलेर नष्ट हुँदा समस्या व्यहोरिरहनुपरेको बताउनुभयो ।





