फलफूल व्यवसायी भन्छन्- 'उपभाेक्ता र फलफूलकाे अभावमा व्यापार घट्याे' | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८२, आइतबार

फलफूल व्यवसायी भन्छन्- ‘उपभाेक्ता र फलफूलकाे अभावमा व्यापार घट्याे’

काठमाडाैं । फलफूल बजार यतिखेर सुनसान प्राय बनेको छ । उपभोक्ता र फलफूल दुवैको अभावमा व्यापार घटेको व्यवसायीहरु बताउँछन् । यतिबेला सुन्तलाको सिजन हो तर सुन्तला पनि बजारमा कम मात्रै उपलब्ध रहको व्यवसायीहरुको भनाई छ । स्याउ, केरा र बदामको कारोबार पनि कम रहेको छ । नेपालमा उत्पादन कम, आयात बन्द लगायतको कारण सबै सामग्रीहरुको मूल्य समेत वृद्धि भएको छ ।

फलफूल व्यवसायी कमल पन्थले यस वर्ष सुन्तलाको उत्पादन गत वर्षको तुलनामा कम भएको बताउनुभयो । सुन्तला उत्पादन गर्ने किसानले मूल्य नपाउने, उपभोक्ताहरुले बढी मूल्य तिर्नुपर्ने वर्तमान अवस्था रहेको उहाँको भनाई छ । किसानले उत्पादनमा मल, औषधि तथा मजदुरीमा ठूलो खर्च गरेपनि विचौलियाका कारण उचित मूल्य पाउन नसकेको उहाँले बताउनुभयो । बजारमा विचौलियाको प्रभाव हाबी हुँदा किसान र थोक व्यवसायी प्रत्यक्ष कारोबार हुन नसकेको उहाँको भनाई छ । विचौलियाका कारण किसान र व्यवसायी दुवै पक्षलाई घाटा भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार विचौलियाहरुले फलको फूल खेल्न नपाउँदै किसानसँग सम्झौता गर्ने गरेका हुन्छन् । उनीहरुले फल फल्नु भन्दा अगाडी नै एड्भान्स दिएका कारण व्यापारीहरु सिधै गएर किन्न नमिल्ने उहाँले बताउनुभयो । किसान र व्यपारीको बीचमा सम्झौता भएर कारोबार भए सबै पक्षलाई फाईदा हुने उहाँले बताउनु भयो । सरकारले बीचको विचौलियाहरुलाई हटाउनुपर्नेमा जोड दिनुभयो । उहाँले किसान र व्यवसायीको सिधा सम्पर्क हुने वातावरण सरकारले बनाउनुपर्ने उहाँको भनाई छ ।

नेपाल फलफूल थोक व्यवसायी संघका कोषाध्यक्ष पुरुषोत्तम घिमिरेले जेन–जी आन्दोलनपछि व्यापार कम भएको बताउनुभयो । उहाँले भारत र चीनबाट हुने आयात ठप्प हुँदा पनि व्यापारमा प्रभाव पारेको बताउनु  । उहाँकाअनुसार तातोपानी नाका हुँदै नेपाल आउने कन्टेनरहरू रोकिएका छन् भने केरुङ नाकासमेत पुल बन्द भएको कारण सुचारु रूपमा आयात हुन सकेको छैन । उहाँले बजारमा स्याउ–केरा जस्ता प्रमुख फल आपूर्ति नुहँदा अभाव सिर्जना भएको बताउनुभयो ।

उहाँले हाल केरा आयात बन्द हुँदा बजारमा केराको अभाव भएको पनि बताउनु भयो । नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने भएपनि आगामी केही वर्षसम्म स्थानीय उत्पादनले मात्र माग धान्न नसक्ने उहाँको भनाई छ । बजारमा स्याउ केराको नै बढी कारोबार हुने उहाँले बताउनु भयो । नेपालमा केरा उत्पादन भएपनि पर्याप्त नुहँने हुँदा माग धान्न मुस्किल हुने बताउनु भयो । उहाँले सरकारले सरोकारवालासँग छलफल गरेर मात्रै फलफूलजन्य आयात रोक्ने नरोक्ने निर्णय गर्नुपर्नेमा जोड दिनुभयो ।

व्यवसायी सुमन ढुंगानाले चिसो मौसम र ठूलो संख्यामा जनशक्ति विदेशिएको कारण फलफूल खपत घटेको बताउनु भयो । ढुंगानाकाअनुसार किसानले समयअगावै सुन्तला टिप्न थालेपछि सिजनमै अभाव भएको छ । तिहारपछि आउने सुन्तला दशैँमा नै टिपिँदा बजारमा कमी आएको र मूल्य पनि वृद्धि भएको उहाँले बताउनुभयो ।
फलफुलको मात्रै होइन सिजनमा बदामको व्यापार पनि घटेको छ । व्यवसायी हरिनारायण साहले बदामको व्यापार गत वर्षको तुलनामा ६० प्रतिशतले घटेको बताउनु भयो । उहाँले नेपालमा मान्छे नै नभएको कारण व्यापारमा कमी आएको बताउनुभयो । शाहले आवश्यक खाद्यवस्तुमा आयात सहज बनाउन पनि सरकारलाई आग्रह गर्नुभयो ।

उपभोक्ता वीरेन्द्र घिमिरेले फलफूल मंहगो भएको बताउनुभयो । उहाँले किसानले कम मूल्य पाउने तर उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने गरेको गुनासो गर्नुभयो । विचौलियाका कारण मंहगी बढेको उहाँको भनाई छ । किसान र व्यापारी प्रत्यक्ष जोडिन सक्ने सरकारी संयन्त्र नहुँदा उपभोक्ता र किसान दुवै मारमा परेको उहाँले बताउनुभयो ।

व्यवसायी मनु गुप्ताले चिसो बढेसँगै फलफूलको व्यापार पनि घटेको बताउनुभयो । भारत–चीनबाट आयात कम भएपछि पनि बजारमा फलफूल पनि व्यापक कमी देखिएको उहाँको भनाई छ ।

Leave a Reply