काेटेश्वरमा अण्डरपास र फ्लाइओभर निर्माणका लागि जापानले ३१ अर्ब ऋण दिने | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

काेटेश्वरमा अण्डरपास र फ्लाइओभर निर्माणका लागि जापानले ३१ अर्ब ऋण दिने

काठमाडाैं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको समुपस्थतिमा बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको हो ।

जापानले उक्त आयोजनाका लागि करिव ३१ अर्ब ७६ करोड बराबरको ऋण सहायता उपलब्ध गराएको छ । जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहनेछ । यस आयोजना अन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा बिपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ । ऋण सहायतासँग सम्बन्धित एक्सचेञ्ज अफ नोटिसमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र महामहिम जापानी राजदुत मायदा  तोरुले हस्ताक्षर गर्नुभयो ।

त्यस्तै ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह–सचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि श्री मित्सुजाकी माजुकीले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जापानी दूतावास तथा जाइका नेपालका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply