'स्वस्थ प्रतिष्पर्धा गरौँ, विभाजन निम्त्याउने काम नगरौँ' | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

‘स्वस्थ प्रतिष्पर्धा गरौँ, विभाजन निम्त्याउने काम नगरौँ’

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन सबैसँग आग्रह गर्नुभएको छ। पार्टीभित्र स्वस्थ प्रतिष्पर्धा स्वीकार गर्ने तर एकता भड्काउने र विभाजन निम्त्याउने काम कुनैपनि हालतमा नगर्न चेतावनी दिनुभएको हो।

पार्टी सचिवालय बैठकमा अध्यक्ष ओलीले विगतका दुःखद् अनुभव स्मरण गर्दै माधवकुमार नेपाल र भीम रावलले जस्तो पराजयपछि पार्टी छोड्ने प्रवृत्ति दोहोरिन नहुने स्पष्ट पार्नुभयो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष ओलीले बैठकमा आफू महाधिवेशनमा पराजय भएपनि पार्टीमा निरन्तर रहेको स्मरण गराउँदै सबैलाई सचेत रहन आग्रह गर्नुभएको जानकारी दिनुभयो ।

वर्तमान राष्ट्रिय र आन्दोलनका जटिल चुनौतीहरूलाई ध्यानमा राख्दै यो महाधिवेशनलाई एकताको सशक्त सन्देश दिने थलो बनाउनुपर्नेमा जोड दिनुभएको ज्ञवालीले बताउनु भयो। एकतावद्ध भएर अगाडि बढ्ने कुरामा नै सबैको कल्याण रहेको र अहिले आम पार्टी पंक्ति र समग्र देशले पनि यही चाहेको अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै उपमहासचिव ज्ञवालीले भन्नुभयो ।

बैठकमा अहिले कसैले पनि उम्मेदवारी घोषणा गर्ने वा नेतृत्वका लागि अघि सर्ने कुरा नउठेको तर यदि भोलि कसैले प्रतिष्पर्धा गरेमा त्यसलाई स्वाभाविक रूपमा लिइने ज्ञवालीले स्पष्ट पार्नुभयो। पार्टीभित्र पछिल्लो समय नेतृत्व प्रतिस्पर्धासम्बन्धी केही हल्ला चलेपछि अध्यक्ष ओलीले यस्तो सन्देश दिएर सबैलाई एकताको लाइनमा उभ्याउने प्रयास गर्नुभएको विश्लेषकहरूले बताएका छन्। एमालेले यो महाधिवेशनलाई विचार, संगठन र नेतृत्वको सुदृढीकरणको ऐतिहासिक अवसरका रूपमा लिएको र कुनैपनि बहानामा विभाजनको बीउ रोप्ने काम नहुने स्पष्ट पारेको छ।

Leave a Reply