काठमाडौं, २७ माघ । प्रदेश ३ का सांसदलाई स्थायी रूपमा घर निर्माण गर्न हेटौंडा उपमहानगरपालिकाले किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने भएको छ। शुक्रबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो। नगर विकास समितिको स्वामित्वमा रहेको जग्गालाई सरकारी दररेटमै किस्तामा उपलब्ध गराइने भएको छ।
करिब सरकारी दरकै रकम लिएर घडेरी दिने निर्णय गरिएको मेयर हरिबहादुर महतले बताए।वडा–८ कमानेमा नगर विकासको स्वामित्वमा करिब ७ बिघा जमिन छ। ‘जिल्ला बाहिरकासांसदलाई कम्तीमा १० धुर जमिन उपलब्ध गराउने निर्णय गरेका छौं,’ मेयर महतले भने।५ वर्षको अवधिमा सांसदहरूले हेटौंडामै निवास बनाउन सकुन् भनेर सहुलियत दरमा घडेरीउपलब्ध गराउन लागेको नगर विकास समितिले जनाएको छ। अध्यक्ष राजीव सुवेदीको अध्यक्षतामा उपमहानगरपालिकामा बसेको बैठकले ५ वर्षभित्र रकम भुक्तानीको समय सीमा तोकेको छ।
कांग्रेसका पूर्वसभापति माइकल रामचन्द्र अर्यालले घडेरी उपलब्ध गराउने निर्णय स्वागत योग्य भएको बताए। सर्वदलीय बैठकमा एमाले, माओवादी र कांग्रेसलगागत दलका प्रतिनिधिकोसहभागिता थियो। हेटौडामा अहिले सरकारी दररेटभन्दा २ सय बढी गुणाले जग्गा किनबेच भइरहेको छ।
सांसदहरूले घर निर्माण नगर्दासम्म हेटौंडा उपमहानगरपालिकाले सरकारी तथा उद्योगका भवन र निवासमा राख्ने व्यवस्था मिलाएको छ। घर भाडामा लिएर बस्नुपर्ने बाध्यता अन्त गर्न उपमहानगरले यस्तो व्यवस्था मिलाएको हो ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।




