फुटपाथ नहुँदा पैदल यात्रु जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

फुटपाथ नहुँदा पैदल यात्रु जोखिममा

काठमाडौं, २७ माघ । राजधानीका भित्री सडकमा फुटपाथ नहुँदा पैदलयात्रु असुरक्षित यात्रा गर्न बाध्य छन्। अव्यवस्थित सडकका कारण सवारीसाधनको भिड छिचोलेर गन्तव्यमा पुग्न हिजोभन्दा आज कठिन बनेको छ। सडक विस्तारक्रममा पुराना पेटीसमेत भत्काइएपछि यात्रु मर्कामा परेका हुन्।

सोह्रखुट्टेस्थित सिग्मा स्कुलमा कक्षा ७ मा अध्ययनरत आस्मा क्षेत्री फुटपाथ नहुँदा आउजाउ गर्न समस्या परेको बताउँछिन्। उनलाई सधैं सुरक्षाको चिन्ता छ। ‘भएका फुटपाथ पनि साँघुरा र दोहोरो हिँड्न नमिल्ने खालका छन्’, उनी भन्छिन्। उनका साथी र पैदलयात्रुलाई पनि उस्तै समस्या छ।

काठमाडौंका सडक यसै पनि साँघुरा र साना छन्। त्यसमा पनि सडकै ओगटेर सामान राख्दा समस्या बढेको छ। सवारी व्यवस्थापन र सुरक्षाका लागि खटिएका ट्राफिक प्रहरी पनि सवारी गुड्ने र पैदलयात्रु हिँड्ने सडक एउटै हुँदा दुर्घटना र जाम बढिरहेको बताउँछन्। सोह्रखुट्टे, गोंगबु, ठमेल, असन, क्षेत्रपाटी, चाबहिल, वसन्तपुर, नक्साल, ज्ञानेश्वरलगायत भित्री बस्तीमा यात्रुका लागि फुटपाथ समस्याको विषय बनेको छ। नगर विकासका लागि व्यवस्था गर्न बनेको ऐन २०४५ ले महानगरपालिका, नगरपालिका र स्थानीय तहमा स्थानीय योजनाको मार्गनिर्देशन गरे पनि सही रूपमा कार्यान्वयन हुन नसक्दा बेथिति बढेको हो।

ऐनमा स्थानीय तहले आफ्नो क्षेत्रभित्रको भौतिक विकासका लागि कार्यक्रम निर्धारण गरी योजना तर्जुमा गर्नुपर्ने व्यवस्था गरेको छ। उक्त ऐनको दफा, ९ ले सडक, भवन, हाट बजार, बस्ती बसाउने कार्यमा नियमन र निषेध गर्न पाउने अधिकार स्थानीय तहलाई दिएको छ। यस्तै दफा १० ले पनि कुनै सर्त वा मापदण्डविपरीत कार्य भए रोक्न र कारबाही चलाउनसक्ने अधिकार दिएको छ। तर व्यवहारमा भने कार्यान्वयन हुन सकेको छैन।

काठमाडौं महानगर- १६ का वडाध्यक्ष मुकुन्द रिजालले फुटपाथमा हिँड्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको बताए। ‘जनताको सुरक्षाका लागि प्रत्येक सडकमा फुटपाथ चाहिन्छ, अरु कुनै विकल्प छैन,’ उनले भने, ‘पैदलयात्रुको सहजताका लागि ठोस काम गर्न विभिन्न प्रयास गरिरहेका पनि छौं। सडकमा अनिवार्य फुटपाथ हुनुपर्छ।’

ठमेल क्षेत्रलाई सवारीसाधनमुक्त बनाउने कार्य पैदलयात्रुको सुरक्षाका लागि प्रारम्भिक कदम रहेको रिजालले सुनाए। उनका अनुसार काठमाडौंका अधिकांश सडकको प्रारुप राणाकालीन घोडेटोबाट बनेका कारण फुटपाथको समस्या रहेको बताए। ‘घोडेटोबाट अहिलेका सडकको विकास भएकाले पनि व्यवस्थित गर्न कठिन भयो तर आठ फिटभन्दा माथिका सडकमा अनिवार्य फुटपाथ बन्छ,’ उनले भने।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);