भन्सार र कर्मचारीको मिलेमतोमै भित्रिन्छन् सवारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भन्सार र कर्मचारीको मिलेमतोमै भित्रिन्छन् सवारी

नेपालगन्ज, २७ माघ । भन्सारका कर्मचारीसँग मिलेमतो गरी व्यापारीले राजस्व छलेर सामान आयात गरेको पाइएको छ। सवारीसाधनका पार्ट्सदेखि अस्पतालमा बिक्री हुने प्रतिबन्धित औषधिसमेत भन्सार छलेर रुपैडिया नाकाबाट नेपालगन्ज भित्रिने गरेको छ। गत आइतबार साँझ भारतको रुपैडियाबाट अटो पार्ट्स बोकेर आएको बा १८ च २९६७ नम्बरको गाडी भन्सारबाट सहजै छिर्यो। संघीय प्रहरी इकाई नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेका घुमुवा प्रहरीले रुपैडियाबाटै पिछा गरेर आएको उक्त गाडीलाई जयसपुर चौकी नजिक आइसकेपछि नियन्त्रणमा लिए।

महिला र बच्चा बोकेको गाडीभित्र लुकाएर करिब ७६ हजार मूल्य बराबरको अटो पाटर्स ल्याइएको थियो। भन्सार छलेर आएको गाडी र संलग्न तुलसीपुरका व्यापारी श्याम बस्नेतलाई प्रहरीले भोलिपल्टै कारबाहीबिना छाडिदियो, भने सामान लगेर भन्सार कार्यालयमा बुझायो। प्रहरीले नियमअनुसार भन्सार कार्यालयलाई अनिवार्य बुझाउनुपर्छ। गाडीसहित आटो पाटर्स व्यापारीलाई प्रहरीले पक्राउ गरेको समाचार सञ्चार माध्यमबाट बाहिर आइसकेपछि भन्सार कार्यालयका अधिकारी पनि अनविज्ञ थिएनन्। स्रोतका अनुसार प्रहरीले बरामद गरेको सामान बुझ्दा भन्सारका अधिकारीले नियन्त्रणमा लिएको गाडी र संलग्न व्यक्तिबारे सोधपुछ समेत गरेनन्।

खुला सीमा भएका कारण कतिपय सवारीसाधन फुत्केर आउने भन्सार प्रमुख जनार्दन शर्माले बताए। ‘खुला सिमाना भएको हुँदा कन्टेनर र मालबाहक ट्रक बाहेक सबै सवारीसाधन जाँच गर्न सम्भव हुँदैन, कहिले काही त्यस्ता गाडी सहजै छिर्न सक्छन्’, उनले भने। नियम अनुसार प्रहरीले बरामद गरेका सामान र पक्राउ गरेका गाडी तथा संलग्न व्यक्तिलाई अनिवार्य रूपमा भन्सार कार्यालयमा बुझाउनुपर्ने भए पनि कहिलेकाही व्यावहारिकता हेर्नुपर्ने बाध्यता रहेको शर्माले बताए। नेपाली गाडी हुने भएकाले सकभर लिलामी गर्न सकिँदैन, बरु बरामद सामानलाई लिलाम गरेर राजस्व जम्मा गर्न सकिने उनको भनाइ छ।

भन्सार प्रमुख शर्माको यस्तो अभिव्यक्तिले नेपालगन्ज भन्सारमा तस्करी गर्ने व्यक्तिको हौसला झन बढाउँछ। दुई महिना अघि करिब २० लाख मूल्य बराबरको इलेक्ट्रिकल मेसिन बोकेको यूपी ३५ टी ७३०७ नम्बरको भारतीय ट्रक पनि भन्सार छलेरै नेपालगन्जमा भित्रियो। प्रत्यक्षदर्शीका अनुसार अघिल्लो दिनसम्म भन्सार नजिक रोकिएको उक्त ट्रक बेलुकी भएपछि चेकपोस्ट पार गरेको थियो। लाखौं मूल्य पर्ने सामान भन्सार नगरेर भित्रिएको सुइँको पाएपछि पुगेको प्रहरीले ट्रकलाई स्थानीय महेन्द्र बहुमुखी क्याम्पस नजिकबाट नियन्त्रणमा लियो।

भन्सार कार्यालयसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब आधा दर्जन सुरक्षा पोष्ट पार गरेर सहज रूपमा भित्रिएको उक्त ट्रकलाई संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले नियन्त्रणमा लियो। नेपालगन्जस्थित दुर्गेश्वरी इन्टरप्राइजेजको सामान बोकेको ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय कोहलपुरको जिम्मा लगाएको थियो। सञ्चार माध्यमको चर्को दबाबका कारण प्रहरीले त्यतिबेला राजस्व अनुसन्धान कार्यालयलाई बुझाउन बाध्य भएको थियो।

यस्ता घटना नेपालगन्ज भन्सारका लागि नयाँ भने होइनन्। गत असोज अन्तिम साता भन्सार कार्यालयले भारतबाट ल्याउँदै गरिएको ठूलो परिमाणको मासु ट्रकसहित बरामद ग¥यो। एचआर ५५ एन ५२४० नम्बरको भारतीय ट्रकमा लोड गरिएको १५ टन मासु झुठो कागजात पेश गरेर नेपालगन्ज प्रवेश गराउन लागेको भन्दै कार्यालयले बरामद गरी नष्ट गरेको थियो। केही समयपछि भने घटनाको तथ्य फरक आयो। भन्सार कार्यालयकै केही कर्मचारीका अनुसार मासु आयात गर्ने व्यवसायी र भन्सार कर्मचारीबीच रकममा कुरा नमिलेपछि ट्रकलाई रोकेर मासु नष्ट गरिएको थियो। करिब १० महिना अघि पनि ‘कनिका’को नाममा एक ट्रक चामल भित्रेको तथ्य बाहिर आएको थियो।

भन्सार पार गरी आएको यूपी २२ सी ९८०४ नम्बरको ट्रक पल्टिएपछि ट्रकमा कनिका नभएर चामल फेला परेको थियो। यसमा पनि भन्सार कर्मचारीकै सेटिङ रहेको स्रोत बताउँछ। चामल बोकेर आएको उक्त ट्रकले नेपालगन्ज भन्सार कार्यालयमा कनिकाको राजस्व तिरेको थियो। कनिका र चामल चार/चार सय बोरा रहेकोमा व्यवसायीले ८ सय बोरा कनिकाको भन्सार तिरेका थिए। नेपालगन्ज भन्सारमा समय–समयमा हुने यस्ता गतिविधिले सर्वसाधारण आश्चर्यमा पर्ने गरेका छन्। प्रहरी र भन्सार कर्मचारीले चाहेमा ठूला तस्करलाई संरक्षण गरेर सानालाई सास्ती दिने गरेको आरोप लाग्ने गरेको छ।

भन्सारका कर्मचारी र प्रहरी मिलेपछि जे पनि गर्न सक्दा रहेछन् भन्ने यस्ता घटनाले पुष्टी गरेको छ। औषधिसमेत भन्सारको आँखा छलेर ल्याउने गरेको पाइएको छ। एक महिनाअघि मात्रै रिक्सामा ल्याउँदै गरेको ८० हजार बराबरको नेपालमा प्रतिबन्धित औषधि संघीय प्रहरीले नै नियन्त्रणमा लिएको थियो। औषधि प्रहरीले नष्ट गरी रिक्सा चालकलाई भन्सारमा बुझाइएको थियो। ‘यस्ता काम प्रहरी र भन्सार कर्मचारीबीच मिलेमतोमै हुन्छन्, सबै कुरा बाहिर आउँदैनन्’, भन्सारका एक जना कर्मचारीले भने, ‘मिलेमतोमा नै गाडी भित्रिरहेका छन्, माथिल्लो निकायबाट भन्सारमा निगरानी नहुनु दुःखद् कुरा हो।’

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);