चाडपर्व शुरु भएपछि बढ्यो चोरी निकासी, तीन महिनामै ४१ लाखको सामान बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चाडपर्व शुरु भएपछि बढ्यो चोरी निकासी, तीन महिनामै ४१ लाखको सामान बरामद

chori-theft

इलाम । गएको ४ असोजमा प्रहरीले रोङ गाउँपालिका–४ जोर कलसमा मिनी ट्रकमा झापा लैजाँदै गरेको अवस्थामा ८२० बोतल सिक्किमे मक्स पक्राउ गर्‍यो । प्रदेश नं. १–०२–००१क ३७०२ नम्बर मिनीट्रक सहित बरामद गरेको मस्क पशुपतिनगर भन्सार कार्यालयमा बुझाएको छ । प्रहरीले जोर कलसबाट पक्राउ गरेको भारतीय मदिरा मस्कको मूल्य ६ लाख ६४ हजार रुपैयाँ पर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२६ भदौमा सूर्योदय नगरपालिका–५ समाल्बुङ्गबाट अवैध रुपमा चोरी गरेर ल्याइएको ३२४ पिस स्याम्पो बरामद गरियो  । ४६ हजार चार सय रुपैयाँको स्याम्पो पनि भन्सार कार्यालयमा बुझाएको छ । त्यसको अघिल्लो दिन सूर्योदय नगरपालिका–६ स्थित हर्कटे बजारबाट १३० थान कुर्ता/सरवाल, २२० थान मेक्सी बरामद भएको थियो । एक लाख नौ हजार रुपैयाँ मूल्य पर्ने कपडासमेत भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । २१ भदौमा नै भन्सार छलेर ल्याइएको ८० हजार मूल्य बराबरको टुथपेष्ट, साबुन, कफी पाउडर बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको इलामका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । 

असार मसान्तयता प्रहरीले अवैध रुपमा ल्याइएको सामग्री १३ पटक नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ । लत्ताकपडा, खाद्यान्न, शक्तिवर्द्धक पेय पदार्थ, मदिरा, पशुचौपाया चोरी निकासी हुने गरेको छ । तीन महिनाको अवधिमा प्रहरीले ६१ लाख ४१ हजार पाँचसय ५० रुपैयाँको सामान र भारतीय रुपैयाँ बरामद गरेर भन्सार र राजश्व अनुसन्धानलाई बुझाएको छ । 

सामान ओसारपसारमा प्रयोग गरेको दुईवटा सवारी साधन र एक जना व्यक्तिलाईसमेत पक्राउ गरिएको श्रेष्ठले जानकारी दिए । चोरी निकासीको अधिकांश घटनामा संलग्नहरु भने पक्राउ पर्दैनन् । ‘प्रहरीले सामान समातिसकेपछि सामान मेरो हो भन्ने कोही हुँदैनन, धेरै सामान सार्वजनिक सवारी साधनमा फेला पर्छन,’ उनले भने, ‘त्यसैले व्यक्ति पक्राउ पर्दैनन, ओसार पसारमा संलग्न व्यक्ति भेटिए छाड्दैनौं ।’

खुला सीमानाको फाइदा उठाउँदै भन्सार छलेर सामान ओसार पसार हुने गरेको छ । इलाम जिल्लाको ५२.५ किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको छ । यो दुरीमा सयौं बाटोहरुबाट सीमा वारपार गर्न सकिन्छ । त्यहीँ बाटोबाट चोरी गरेर सामान वारपार हुने गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);