साइबर सुरक्षाको चुनौतीमा सामुहिक प्रयास आवश्यक | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

साइबर सुरक्षाको चुनौतीमा सामुहिक प्रयास आवश्यक

प्रविधिको विकाससँगै मानवीय दैनिक जीवन सहज र प्रभावकारी भएपनि साइबर सुरक्षाको जोखिम तीव्ररुपले बढ्दै गइरहेको छ । गलत सूचना, अन्तर्राष्ट्रिय साइबर अपराध र प्रयोगकर्ताको कमजोर साइबर सचेतनाका चुनौतीले सम्पूर्ण समाज, अर्थतन्त्र र राष्ट्रको स्थिरतालाई समेत असर पार्न थालेको छ । साइबर सुरक्षालाई दिगो विकास, आर्थिक सुरक्षा, नागरिक गोपनीयता तथा राष्ट्रिय सुरक्षाको मुख्य आधार बनाउनु पर्ने अवस्था सिर्जना भएको छ ।

 

-माेहनप्रसाद मैनाली
विश्वभर भइरहेको प्रविधिको विकाससँगै हाम्रो दैनिक जीवन, व्यापार व्यवसाय तथा सामाजिक गतिविधिहरू डिजिटल माध्यममा निर्भर हुँदै गएका छन् । यिनै सुविधासँगै साइबर सिक्युरिटी आजको अत्यावश्यक सुरक्षा खम्बा बनेको छ । तर डिजिटल प्रविधिको विस्तारसँगै चुनौतीहरू पनि जटिल र पूर्वानुमान गर्न नसकिने बन्दै गएका छन् ।

साइबर आक्रमणको परिष्कृत रूप नै अहिलेको मुख्य चिन्ताको विषय हो । विगतमा हुने साधारण भाइरसको तुलनामा अहिलेका आक्रमणकर्ताहरू कृत्रिम बुद्धिमत्ताको सहयोगले बहुआयामिक आक्रमण गर्न थालेका छन् । डाटा गोपनीयता र व्यक्तिगत सूचना सुरक्षाको संकट चुनौतीको रुपमा देखिएको छ । स्मार्टफोन, सामाजिक सञ्जाल, अनलाइन सेवा तथा विभिन्न एप्समार्फत् हरेक दिन ठूलो मात्रामा डेटा संकलन गरिएको हुन्छ ।

यस्ता, डेटाहरु कति सुरक्षित छन् तथा यसको पहुँच र प्रयोग कस्ले गरिरहेको छ भन्नेबारे अधिकांश संस्था वा सरकारसँग प्रष्ट जवाफ हुँदैन । हाल विश्वभर ‘डेटा ब्रीच’ अर्थात् कुनैपनि संगठित संस्था, कम्पनी, सरकार वा व्यक्तिगत प्रणालीमा रहेका गोप्य वा संवेदनशील सूचनाहरु अनधिकृत व्यक्तिले चोरेर सार्वजनिक गर्ने घटनहरु बढिरहेका छन् । जसको परिणामस्वरूप आर्थिक ठगी, सामाजिक तथा राजनीतिक हेरफेरजस्ता घटना भइरहेका देखिन्छन् ।

डिजिटल माध्यममा आधारित राजनीतिक हेरफेर र गलत सूचनाको फैलावट साइबर सुरक्षाको नयाँ आयाम बनिरहेको छ । ‘डीपफेक’ अर्थात् एआईको प्रयोग गरेर व्यक्तिको आवाज वा अनुहार दुरुस्तै बनाएर प्रस्तुत गर्ने प्रविधिहरूले वास्तविकता र कृत्रिमता छुट्याउन कठिन बनाइदिन्छन् । चुनावदेखि सामाजिक आन्दोलनसम्म डिजिटलमार्फत् गलत सूचना प्रयोग गरेर जनमतलाई प्रभावित पार्ने घटना बढ्दै गएको छ । यस्ता घटनाले साइबर सुरक्षा, सामाजिक स्थिरता तथा राजनीतिकरुपमा चुनौती खडा गरिरहेको छ ।

कर्मचारी तथा साधारण प्रयोगकर्ताहरूको साइबर सचेतना कमजोर हुनु महत्वपूर्ण विषय बनेको छ । धेरै आक्रमणहरू अत्याधुनिक प्राविधिक कमजोरीबाट नभइ प्रयोगकर्ताको असावधानीका कारण सफल भइरहेका देखिन्छन् । कमजोर पासवर्ड, अपडेट नभएका पुराना सफ्टवेयर, फिसिङ अर्थात साइबर आक्रमण जस्ता साधारण कमजोरी सबैभन्दा ठूलो जोखिमका स्रोत भइरहेका छन् । प्रविधिको विकास जति उन्नत भए पनि मानवीय त्रुटि घटाउन नसके साइबर सुरक्षा सुनिश्चित गर्न सकिने अवस्था देखिदैन ।

साइबर अपराधको अन्तर्राष्ट्रिय स्वरूप एउटा महत्वपूर्ण चुनौतीको रुपमा देखिएको छ । आक्रमणकर्ता कहिले र कहाँबाट काम गरिरहेका छन् भन्ने पहिचान गर्न कठिन हुन्छ । धेरैजसो साइबर अपराधीहरू कानुनी कमजोरी र अन्तर्राष्ट्रिय समन्वयको कमजोरीबाट फाइदा उठाउँछन् । एक देशमा बसेर अर्को देशको बैंक, अस्पताल वा सरकारी प्रणालीमा आक्रमण गर्न सकिने क्षमताले कानुनी प्रक्रियालाई जटिल बनाएको छ । यस्ता समस्याहरु समाधानका लागि विश्वभर साइबर कानून, नीति तथा सहयोग संयन्त्रलाई सुदृढ बनाउनु आवश्यक हुन्छ ।

साइबर सुरक्षाको चुनौती समाधान गर्न सरकार, निजी क्षेत्र, प्राविधिक विज्ञ, कानुनी संयन्त्र तथा सर्वसाधारण सबैको सामूहिक प्रयास आवश्यक छ ।

Leave a Reply

ताजा समाचार