थ्री स्टारलाई बदलाको मौका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

थ्री स्टारलाई बदलाको मौका

धरान, २७ माघ । एक साताअघि (माघ २० गते) पोखरामा सम्पन्न १६ औं आहा रारा गोल्डकपको फाइनलमा नेपाली फुटवलका महारथी दुई क्लब नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार भिडेका थिए । त्यसबेला पुलिसले १–० ले थ्री स्टारलाई हराउदै आहा राराको उपाधि उचाल्यो ।

धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा पनि पुलिस र थ्री स्टार क्लब नै पुगेपछि प्रतियोगितामा रोचकता थपिएको छ । धरान १६ स्थित प्रादेशिक रंगशालामा शनिबार दुवै क्लब आमनेसामने हुदैछन् । थ्री स्टार पोखराको हारको वदला लिने योजना बुन्दै गर्दा पुलिस भने बुढासुब्बामा उपाधिको दोहोरो ह्याट्रिक गर्ने दाउमा छ । पुलिसका युवा खेलाडीहरुको प्रर्दशन दिनप्रतिदिन लय समातिरहदा थ्री स्टारलाई भने चोटग्रस्त खेलाडीहरुको चिन्ता छ । स्ट्राइकर विमल घर्तीमगरको अभाव पनि थ्री स्टारलाई खट्किएको छ ।

बुढासुब्बामा पुलिस सर्वाधिक सफल टिम हो । यसअघि नवौं पटक फाइनल खेलिसकेको पुलिसले पाँच पटक उपाधि जितिसकेको छ भने चार पटक उपविजेता भएको थियो । पुलिसले यसअघि दोस्रो, चौथो, पाँचौं, दशौं र १९ औं सँस्करणमा उपाधि जितिसकेको छ । अब शनिबार पनि विजेता बन्दै पुलिस उपाधिमा दोहोरो ह्याट्रिक गर्न चाहन्छ भने सिजनको तेस्रो उपाधि उचाल्ने लालसा छ । पुलिसले जारी सिजनमा दाङमा राखेप च्याम्पियनसिपअन्र्तगत फुटवल र पोखरामा आहा रारा गोल्डकप जितिसकेको छ । आहा रारामा थ्री स्टारलाई हराएकोले पनि पुलिस उच्च आत्मवल बोकेर पुलिस मैदानमा उत्रनेछ । ‘थ्री स्टारसँग पहिला पनि खेलेर जितिसकेका छौं, त्यसैले यहाँ खेल्न सहज छ । खेलाडीहरु सबै युवा छन्, र लयमा खेलिरहेका छन्,’पुलिसका म्यानेजर ज्योतिकमल गुरुङले भने,‘खेलाडी कोही घाइते छैन, टिमसेट मिलेको छ, हामी उपाधि जित्छौं ।’

पुलिसको फरवर्डमा रेजिन सुब्बा, सुमन लामा र रवि पासवान रहनेछन् भने मिडमा हेम तामाङ, तेज तामाङ र युवराज राई हुनेछन् । रक्षापंक्तिमा दिनेश राजवंशी, सन्तोष हेमरुन, बुद्ध लामा र अजित भण्डारीले सम्हाल्दा गोलकिपर सत्रुघन राजवंशी हुनेछन् । ‘खेल हो भन्न सकिन्न, कहिले कहि राम्रो खेल्दाखेल्दै पनि स्कोर हुदैन । गेम टफ, ५०÷५० हुन्छ,’पुलिसका कप्तान हेम तामाङले भने । साविक विजेतासमेत रहेको पुलिसले क्वार्टरफाइनलमा काकडभिटा ट्रेनिङ सेन्टर झापा र सेमीफाइनलमा गत बर्षको उपविजेता संकटा क्लबलाई हराउदै फाइनल यात्रा तय गरेको थियो ।

पुलिससँग वदला लिने दाउमा रहेको थ्री स्टारसँग हतियारकोरुपमा अनुभवी तथा राष्ट्रिय खेलाडीहरु छन् । यो सिजनमा इटहरीमा मदन भण्डारी गोल्डकप जितेको थ्री स्टार पोखरामा भएको गल्ती नदोहोर्याउने रणनीतिमा छ । यद्यपी, फिनिसिङमा भएको कमजोरी थ्री स्टारको लागि टाउको दुखाई बनेको छ । बिहिबार सेमीफाइनलमा कमजोर मानिएको दुर्गापुर स्टिल कलकत्तासँगको खेलमा दुई दर्जन गोल गर्ने अवसर थ्री स्टारले खेर फालेको थियो । ‘हामीसँग अनुभवी खेलाडीहरु छ, तर फिनिसिङ लाइन कमजोर देखिएको छ । फाइनलमो त्यो गल्ती हुदैन,’मुख्य प्रशिक्षक रविन्द्र सिलाकारले भने,‘खप्तड गोल्डकपमा भएको गल्ती इटहरीमा सुधार्यौं, पोखरामा फाइनलमा भएको गल्तीलाई पनि यहा सुधाछौं र वदला लिइछाड्छौं ।’

प्रशिक्षक सिलाकारले भनेजस्तो सहज भने थ्री स्टारलाई छैन । प्रतियोगितामा निरन्तरको सहभागीता र खेलले गर्दा अधिकांश खेलाडीहरु घाइते छन् । बुढासुब्बामा सेमीफाइनल पछि पुलिसले फाइनल खेल्न २ दिन रेष्ट पायो भने थ्री स्टारले एक दिन मात्र त्यो मौका पायो । खेलाडीलाई आराम पनि आवश्यक भएकोले रणनीति अनुसार पुर्णअभ्यास गर्न थ्री स्टारले पाएको छैन । ‘हामीले एक दिन मात्र रेष्ट पायौं, पुलिसले २ दिन पायो । हाम्रो खेलाडी घाइते पनि छन्,’कप्तान बिक्रम लामाले भने,‘तरपनि हामी निराश छैनौं । फुटबलमा स्कोर चाहिन्छ, फाइनलमा स्कोर गर्ने गरि स्ट्राइकरलाई मैदानमा उर्ताछौं ।’ थ्री स्टारबाट राष्ट्रिय टिमका खेलाडी गोलकिपर एलेन न्यौपाने, बिक्रम लामा, रेजिन धिमाल, अनन्त तामाङ र सुनिल वलको प्रेरणा छ भने पुर्वराष्ट्रिय खेलाडी विजय धिमालको पनि साथ छ ।

थ्री स्टारले बुढासुब्बा गोल्डकपमा चार पटकको उपाधि जितिसकेको छ । शनिबार फाइनलमा जित हासिल गरे सर्वाधिक उपाधि विजेता पुलिससँग थ्री स्टारको उपाधि बराबरी हुनेछ । यसअघि थ्री स्टारले सातौं, नवौं, ११ औं र १४ औं सँस्करणमा उपाधि जितेको थियो । जारी सँस्करणमा थ्री स्टारले क्वार्टरफाइनलमा सिजि सुदुरपश्चिम ११ र सेमीफाइनलमा पिएसआर दुर्गापुर स्टिललाई हराउदै फाइनल पुगेको थियो । उपाधि विजेता टोलीले उपाधि ट्रफीसँगै नगद ६ लाख हात पार्नेछ भने उपविजेताले नगद ३ लाखमा चित्त बुझाउनेछ । यस्तै, सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल र व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीहरुले जनही नगद २५ हजार पुरस्कार पाउनेछ ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);