काठमाडाैं ।
ललितपुरको पाटन दरबार क्षेत्रमा आगलागी आपत्कालिन सूचना प्रणाली स्थापना गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मंगलवार एक कार्यक्रमबीच सो प्रणालीको सुभारम्भ गर्नुभएको हो । आगलागीबाट हुने विपद्को बेलामा तत्काल नियन्त्रण गर्न आवश्यक सूचना दिने उद्देश्यले सो प्रणाली जडान गरिएको मेयर महर्जनले बताउनु भयो ।
उहाँले सो प्रणाली परीक्षणको रुपमा सञ्चालनमा ल्याएको र त्यसले प्रभावकारी ढंगले काम गरे ललितपुरको सबै चोकहरुमा जडान गर्ने योजना रहेको पनि जानकारी दिनुभयो । त्यस अवसरमा मेयर महर्जनले मुलुकका सबै नगरपालिकाहरुले भन्दा ललितपुर महानगरपालिकाले विपदको क्षेत्रमा अब्बल तरिकाले काम गरेको दावी समेत गर्नुभयो । ललितपुर महानगरपालिकाले यसअघि नै विपद् कालमा गुनासो सुन्नका लागि ११३१ नम्बरको टोल फ्रि नम्बर संचालनमा ल्याइसकेको छ ।





