पछिल्लो समय नेपालमा तिब्ररुपले डेंगी संक्रमण फैलिरहेको छ । ७५ जिल्लामा फैलिएको डेंगी संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ भने ६ हजार ६ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । बागमती प्रदेश सबैभन्दा बढी प्रभावित रहेको छ । तराई मधेशमा मात्रै हुने डेंगु संक्रमण जलवायु परिवर्तनका कारण केही वर्षदेखि पहाडी र हिमाली क्षेत्रमा समेत फैलिन थालेको छ ।
नेपालमा अहिले डेंगी सङ्क्रमण पुनः तीव्र रूपमा फैलिन थालेको छ । इपिडिमियोलोजी, इडिसिडी तथा रोग नियन्त्रण महाशाखाको पछिल्ला तथ्यांक अनुसार देशभरका ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगी संक्रमित भेटिएका छन् । २०८२ साल शुरु भएदेखि हालसम्म ६ हजार ६ सय ६८ जनामा डेंगी पुष्टि भइसकेको छ भने पाँच जनाले ज्यान गुमाइसकेका छन् । यो तथ्यांकले डेंगी संक्रमणले महामारीको रुप लिने हो कि भन्ने गम्भीर संकेत देखाएको छ ।
बागमती प्रदेशमा सबैभन्दा धेरै एक हजार ६ सय ४९ जनामा डेंगी पुष्टि भएको छ । गण्डकीमा एक ६ सय ३१, लुम्बिनीमा एक हजार एक सय १७, कोशीमा आठ सय ९६, सुदूरपश्चिममा सात ६२, कर्णालीमा चार सय ७४ र मधेश प्रदेशमा एक सय ३९ जनामा डेंगु संक्रमण देखिएको छ । डोल्पा र मनाङ जिल्लामा हालसम्म संक्रमण पुष्टि नभएको इडिसिडीको तथ्यांकमा उल्लेख छ । डेंगी संक्रमण भौगोलिक सिमानाभन्दा पनि वातावरणीय र जनसंख्या घनत्वसँग सम्बन्धित समस्या बन्न पुगेको देखिन्छ ।
डेंगी रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्छ । यो जातका लामखुट्टेले पानी राखिएका फूलदानी, टायर, बाल्टिनलगायतका सफा पानी जमेको ठाउँमा प्रजनन गर्छ । डेंगी नियन्त्रणको पहिलो उपाय भनेकै यस्ता प्रजननस्थलहरू नष्ट गर्नु हो । तर नेपालमा हरेक वर्ष यो समस्या दोहोरिनुमा सामाजिक र प्रशासनिक कमजोरी मुख्यरुपमा देखिन्छ ।
उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीमा दुखाइ बढ्नु, आँखाको गेडी र टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी वा वान्ता हुनु, खाना खान मन नलाग्नु आदि डेंगीका लक्षणहरू हुन् । समयमै जाँच गराउने र चिकित्सकको परामर्शमा मात्रै औषधि सेवन गर्नुपर्ने स्वाथ्यकर्मीहरुको भनाइ छ ।
डेंगी नियन्त्रणका लागि स्थानीय तहदेखि केन्द्रीय तहसम्म जनस्वास्थ्य तयारी सुदृढ गर्नुपर्छ । विद्यालय, कार्यालय र बस्तीहरूमा नियमित सरसफाइ अभियान सञ्चालन, लामखुट्टे नष्ट गर्ने औषधि छर्कने काम निरन्तर गर्न आवश्यक छ ।
जनस्वास्थ्य सचेतना पनि यस संक्रमण नियन्त्रणको महत्वपूर्ण उपाय हुन सक्छ । सञ्चारमाध्यम, सामाजिक सञ्जाल, विद्यालय र समुदायका माध्यमबाट जनस्तरमा सचेतना फैलाउन सके डेंगीको जोखिम घटाउन सहयोग पुग्छ । प्रत्येक नागरिकले आफ्नो वरिपरि सफा राख्ने, पानी जम्मा हुन नदिने र आवश्यक परे नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्ने बानि बसाउनु आवश्यक छ ।
जलवायु परिवर्तन र बढ्दो तापक्रमले पनि लामखुट्टेको प्रजनन चक्रलाई थप सक्रिय बनाइ रहेको देखिएको छ । विगतका वर्षहरूमा डेंगी तराई मधेश वा सहरी क्षेत्रमा सीमित थियो, अहिले भने पहाडी र हिमाली जिल्लासम्म फैलिएको छ ।
चिकित्सकहरूको भनाइ अनुसार डेंगीको जोखिम कात्तिक महिनाभरनै रहन्छ । यो अवधिमा लामखुट्टेको प्रजनन दर उच्च हुने र संक्रमणको सम्भावना पनि बढ्ने भएकाले संक्रमितको संख्या थप वृद्धि हुने देखिन्छ । डेंगु नियन्त्रणका लागि जनसहभागिता, सचेतना र स्थानीय तहको सक्रिय भूमिका आवश्यक छ ।





