काठमाडाैं । हमास समूहको बन्धकमा रहेकै अवस्थामा मृत्यु भएका कञ्चनपुरका युवक विपिन जोशीको मंगलबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । भुजेला घाटस्थित महाकाली नदीमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाले राष्ट्रिय झन्डा ओढाउनुका साथै सशस्त्र प्रहरीले सलामी दिएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
शवयात्रामा सहभागी नेपालका लागि इजरायली दूतावासका कर्मचारीले इजरायलको राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली दिएका थिए । इजरायलबाट सोमबार काठमाडौँ ल्याइएको विपिनको शव साँझ नै सेनाको विमानबाट धनगढी विमानस्थलसम्म पु¥याइएको हो । त्यहाँबाट धनगढी उपमहानगरपालिकाको शव वाहनमार्फत भीमदत्त नगरपालिका–३ स्थित घरमा पुर्याएर मंगलबार बिहान घरबाट हजारौँको सहभागितामा भुजेलाघाटसम्म शवयात्रा गरिएको थियो ।
शवयात्रामा नेपालका लागि इजरायली राजदूत, पूर्व परराष्ट्र मन्त्री एनपी सावद, विघटित प्रतिनिधिसभाका सदस्य तारा लामा तामाङलगायत सहभागी हजारौँको संख्यामा सहभागी थिए । अन्त्येष्टिमा विपिनका परिवार, इष्टमित्र, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, नगर प्रहरी लगायत सहभागी थिए । दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल गएका विपिन जोशीको हमास लडाकुको नियन्त्रणलिएसंगै हत्या भएको थियो ।





