काठमाडाैं । पूर्वऊर्जामन्त्री दीपक खड्काले आफू भागेको भनेर सरकारले गलत प्रचार गरेको दाबी गर्नुभएको छ । सोमबार बूढानीलकण्ठस्थित आगो लागेको आफ्नो घरको कम्पाउन्डमा पत्रकारहरूसँग कुराकानी गर्दै खड्काले आफूविरुद्ध कुनै आरोप नलागेको भए पनि गृहमन्त्रीले भाग्यो भनेर गलत प्रचार गरेको दाबी गर्नुभएको हो ।
राज्यले गल्ती गर्यौ र यहाँ जान पाउँदैनौं नभनुन्जेल जो जतासुकै जान सक्ने उहाँले जिकिर गर्नुभयो । खड्काले भदौ २४ मा प्रदर्शनकारीहरूले आफ्नो घरमा आगजनी भएपछि सेनाले सुरक्षा दिएर राखेको जानकारी गराउनुभयो । ७/८ दिन सेनाकै सुरक्षामा बसेर बाहिर निस्केपछि सामान्य भेटघाटमा व्यस्त भएको र परिवारसहित चितवन गएको खड्काले सुनाउनुभयो ।
चितवन जाँदा छोरालाई डेंगी भएपछि भारत गएको उहाँले स्पष्ट गर्नुभयो । ११ दिन बच्चासहित मेदान्त हस्पिटलमा उपचार क्रममा बसेको उहाँको भनाइ छ । स्कारले देश र समाजमा भ्रम फैलाइ रहेकोकारण त्यसलाई चिर्न सार्वजनिक भएको उहाँले दाबी गर्नुभयो ।
खड्काले जेनजी पुस्ताले गरेको आन्दोलन जायज भए पनि आन्दोलनमा अदृश्य शक्तिको घुसपैठले देश नै रहने कि नरहने र नेपाली भन्न पाउने कि नपाउने भन्ने अवस्था रहेको टिप्पणी गर्नुभयो । निर्वाचनको विषय पार्टीले निर्णय गर्ने भन्दै उहाँले यसमा
राजनीतिक दलहरूको समान धारणा हुनुपर्नेमा जोड दिनुभयो ।





