काठमाडौं ।
आईजीपी चन्द्र कुबेर खापुङ अवकाशमा जाने दिन नजिकिएसँगै प्रहरीको नयाँ आइजीपी को हुने भन्ने चर्चा शुरु भएको छ । नेपाल प्रहरीमा ३३औं महानिरीक्षक आईजीपीका लागि एक नम्बरमा रहेका दानबहादुर कार्कीको बलियो संभावना देखिएको छ । नयाँ आइजीपीका लागि चार एआइजीबीच मुख्य प्रतिस्पर्धा छ । जसमा दानबहादुर कार्की पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा राजन अधिकारी, तेस्रोमा डा.मनोज केसी र चौथो नम्बरमा सिद्धिबिक्रम शाह छन् । कात्र्तिक २७ गते प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ अवकाशमा जाने भएपछि भावी प्रहरीको नेतृत्व मुख्य दावेदारले नै पाउने भएका हुन् । अहिलेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार जेन जी आन्दोलनको जगमा बनेको हो । त्यसैले पनि रोल क्रम अनुसार बन्ने हो भने एआइजी दानबहादुर कार्की पक्का पक्की जस्तै हो । किन कि यो सरकार अघिल्लो सरकार जस्तो ब्रिफकेसमा पैसा बोकेर नेताको घर घर धाउने बेलाको सरकार होइन । यो सरकार त विधिमा चल्ने विश्वास नेपाली जनताले गरेका छन् । जेन जी पुस्ता पनि निष्पक्ष र रोलक्रमको व्यक्तिले पाउनुपर्नेमा प्रस्ट छन् ।
एक नम्बरमा रहेका कार्कीको कुनै बिबाद नै छैन । हालका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ पनि रोलक्रम अनुसार एक नम्बरमा भएका आधारमा महानिरीक्षक बनेका हुन् । हुन त कार्कीको कसैसँग प्रतिस्पर्धा नै नभए पनि अब कार्की र सिआइबीका मनोज केसीबीच प्रतिस्पर्धा हो कि भन्ने प्रहरी अधिकारीहरु बताउँछन् । सत्ता समीकरण फेरिएसँगै अन्तरिम सरकारलाई हुदै नहुने कुरा गरेर कार्कीको बदनाम गर्न भने एक समूह सकृय भएको देखिएको छ । यत्तिसम्म कि जेन जी आन्दोलनमा गोली नचलाएर रक्तपात रोकेका कार्की माथि असफल कमाण्डरसम्म भन्न भ्याएका छन् । भदौ २३ गतेको आन्दोलनपछि उपत्यकाको कमाण्ड कसले सम्हाल्ने भन्ने हालका आइजीपी समेत अन्यौलमा रहँदा कार्की आफू भ्याली कमाण्ड सम्हाल्छु भन्दै उपत्यकाको कमाण्ड सम्हालेका थिए । जसका कारण २४ गते प्रहरीलाई गोली चलाउन आदेश दिइएन । थप आन्दोलनलाई हिंसात्मक बन्न दिएनन् । बरु प्रहरीलाई आफनो सुरक्षा आफै गर्नु भन्दै निर्देशन दिदा आफ्नै प्रहरी गुमाउनु पर्यो ।
अहिले कार्कीलाई कसरी बिबादमा ल्याउन सकिन्छ भन्दै एक खालको विचौलिया नै लागिपरेका छन् । जसले हुदैनभएको तथ्यहीन समाचारसमेत लेखाउन भ्याएका छन् । जुन समाचारमा कार्कीको चरित्रहत्या गर्ने गरी अनर्गल प्रचार गरिएको छ । नक्कली उजुरी दिएर जाँचबुझ आयोगमासमेत कार्कीलाई विवादमा तान्न खोजिएको छ । कहिले नेताको श्रीमतीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा रहेकोसमेत आरोप खेप्नु प¥यो । कार्की एक काविल प्रहरी अफिसर हुन् । जहाँ प्रहरीको नेतृत्व माथि संकट आइपरेका बेला संधै एक पाइला अगाडि पुग्छन् । आगामी कात्तिक २७ मा हालका आइजीपी खापुङले अवकास पाउनेछन् । त्यसपछि नियुक्ति हुने आइजीपीले झन्डै साढे दुई वर्ष नेतृत्व गर्ने भएकाले पनि नयाँ नेतृत्व चयनमा तिव्र संघर्ष भने देखिएको छ । अर्का दाबेदार मनोज केसी हाल उनलाई यहि अन्तरिम सरकारले सिआइबीको जिम्मा दिएको छ । मनोज केसीलाई पनि वरियता मिचेरै भएपनि उनलाई बढुवा गर्नुपर्छ भनेर एक समूह लबिङमा लागेको छ ।
हालका गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई सिआइबीमा लगेका हुन् । तर, हालकी प्रधानमन्त्री सुशीला कार्की प्रधानन्यायाधीश भएकै बेला भएको एक फैसलाले केसीका लागि तगारो हुने देखिन्छ । नवराज सिलवालले दायर गरेको मुद्दामा त्यतिबेला कार्कीको इजलासले जयबहादुर चन्दको नियुक्ति बदर गरी वरियता मिच्नु गलत भनेर फैसला गरेको थियो । अहिले आफ्नै फैसलाविपरीत निर्णय गर्दा प्रश्न उठ्ने भएकाले सो फैसलाले दानबहादुर कार्कीलाई सहज हुने देखिन्छ । यद्यपि अन्य दुई एआइजीले पनि मैदान छाडिसकेका भने छैनन् । दोस्रो नम्बरमा रहेका अधिकारी भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिन्छन् । यसरी हेर्दा कार्कीको संभावना बलियो देखिन्छ ।





