काठमाडौं । आज आश्विन शुक्लदशमी अर्थात विजया दशमी । मान्यजनबाट रातो टीका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदैछ ।
आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाइन्छ । यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको तथा देवी भगवतीले महिषासुरको वध गरेको धार्मिक मान्यता रही आएको छ ।
आश्विन शुक्लपक्षको प्रतितपदाका दिनदेखि दशैंघरमा देवी भवानीका आह्वान गरी शुरु गरिएकोे विशेष पूजाआजा आज विधिपूर्वक विसर्जन गरिन्छ । यसपछि नवदुर्गा भवानीको प्रतीक पूर्णघडाको जलअभिषेक गरी घरघरमा ठूलाबडा तथा मान्यजनबाट देवीको प्रसाद टीका र जमरा लगाई आशीर्वाद थापिन्छ ।
आज विजया दशमीको टीका लगाउने शुभ साइत बिहान ११ बजेर ५३ मिनेट जांदा उत्तम रहेको नेपाल पञ्चाग निर्णायक समितिले जनाएको छ । तर आफूलाई पायक पर्ने जुनसुकै समयमा पनि टीका लगाउन सकिने समितिकाे भनाइ छ । प्रसाद लगाउने दिन भएकाले साइत हेरिरहन नपर्ने पनि समितिले जानकारी दिएकाे छ ।





