जेन जी आन्दोलन र नेपालको पर्यटन क्षेत्रमा परेको असर | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

जेन जी आन्दोलन र नेपालको पर्यटन क्षेत्रमा परेको असर

जेन जी आन्दोलन भ्रष्टाचारको अन्त्य गरी सुशासन र सामाजिक रूपान्तरणका लागि युवाहरूले व्यक्त गरेको असन्तुष्टि हो । तर आन्दोलनमा देखिएको हिंसात्मक क्रियाकलापले नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर पारेको छ, जसले आन्तरिक तथा बाह्य पर्यटकहरूको मनोवृत्तिमा प्रतिकूल प्रभाव पारेको छ ।

नेपाल विश्वकै एक अनुपम पर्यटकीय गन्तव्य हो, जहाँ पर्यटकलाई आकर्षित गर्ने हिमालयदेखि तराईसम्मको भौगोलिक विविधता, सांस्कृतिक सम्पदा र जैविक विविधता प्रमुख विशेषतका रुपमा रहेका छन् । यस्ता विशेषताहरूको संरक्षण र प्रवद्र्धनमार्फत् पर्यटन क्षेत्रले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । तर पछिल्ला दिनहरूमा देखिएको जेन जी आन्दोलनले समग्र पर्यटन क्षेत्रमाथि गहिरो नकारात्मक प्रभाव पारेको छ । सामाजिक सञ्जालमार्फत् सशक्त रूपमा फैलिएको हिंसात्मक प्रदर्शनका दृश्यहरुले पर्यटन व्यवसाय, त्यसमा आश्रित लाखौँ नागरिक र देशको अन्तर्राष्ट्रिय छविमा नै प्रतिकूल असर पारेको देखिएको छ ।

जेन जी आन्दोलन भ्रष्टाचारको अन्त्य गरी सुशासनका लागि युवाहरुको आवाज भनिएपनि हिंसात्मक रुप प्रकट हुँदा पर्यटन क्षेत्रमा भयावह संकट निम्तिन सक्ने संकेत गरेको छ । नेपाल आउने विदेशी पर्यटकहरूले यहाँको समाज, व्यवहार र सेवा क्षेत्रसँग प्रत्यक्ष सम्पर्क राख्ने हुँदा जेन जी आन्दोलनद्वारा सिर्जित हिंसात्मक प्रदर्शनका कारण उनीहरुमा नकारात्मक धारणा बन्न सक्ने खतरा पैदा भएको छ । देशको आन्तरिक पर्यटनमा पनि यो आन्दोलनले नकारात्मक प्रभाव पार्न थालेको छ ।

नेपाली पर्यटन क्षेत्रले लामो समयदेखि राजनीतिक अस्थिरता, पूर्वाधारको कमजोरी र सुरक्षाको अभावले प्रतिकूल प्रभाव भोग्दै आएको छ । पछिल्लोपटक देशमा चलेको जेन–जी आन्दोलनले पर्यटन क्षेत्रलाई थप क्षतिग्रस्त बनाएको छ । आन्दोलनको शान्तिपूर्ण उद्देश्य भए पनि त्यसको व्यावहारिकरुपमा देखिएको हिंसात्मक प्रभावले देशको आन्तरिक तथा वाह्य पर्यटन बजारमा गम्भीर असर पारेको छ ।

जेन–जी आन्दोलनपछि आन्तरिक पर्यटकहरू घुमफिरका लागि बाहिर जान डराउन थालेका छन् । आन्दोलनले देशभित्रको शान्ति सुरक्षामा प्रश्न उठाएको छ, जसका कारण नागरिकहरूले आवत–जावत कम गर्न थालेका छन् । आन्तरिक पर्यटक नहुँदा पर्यटनमा आश्रित साना व्यवसायी, होटल तथा यातायात सेवा प्रदायकहरू प्रत्यक्ष प्रभावित भएका छन् ।

विदेशी पर्यटकहरूको सन्दर्भमा थप गम्भीर प्रभाव देखिएको छ । देशमा देखिएको राजनीतिक अन्योलताले बाह्य पर्यटकहरूलाई भ्रमण योजना बनाउन कठिन बनाएको छ । विदेशी पर्यटकहरू कुनै देश भ्रमण गर्नुअघि त्यहाँको राजनीतिक, सामाजिक तथा सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण गर्छन् । नेपालमा आन्दोलनकै डरले सुरक्षाको प्रत्याभूतिमा विश्वास नहुनु र भ्रमणको समयमा के हुन्छ भन्ने प्रष्टता नहुनु उनीहरूका लागि ठूलो निराशाको विषय बन्न पुगेको छ ।

प्रमुख राजमार्ग भएर दैनिक आवत–जावत गर्ने आन्तरिक पर्यटकहरुको अहिले खडेरी लाग्न थालेको छ । पर्यटक बोक्ने सवारी साधनहरु खाली गुड्ने गरेका छन् । नेपालीहरुको प्रमुख चाड दशैँ सकिएपछि होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी, पर्यटक गाइडलगायतका पेशामा यो संकटले प्रभावित हुन सक्ने सम्भावित त्रासमा होटल व्यवसायी रहेका छन् ।

जेन–जी आन्दोलनको प्रभाव केवल आर्थिक मात्र नभई सामाजिक र मनोवैज्ञानिक पनि छ । मुख्य चाडपर्व सकिएपछि पुनः आन्दोलन हुनसक्ने हल्लाका कारण जनमानसमा एक किसिमको मनोवैज्ञानिक त्रास फैलिएको छ । हल्ला, असुरक्षा र अनिश्चितताको वातावरणले कुनै पनि क्षेत्रमा दिगो विकास सम्भव हुँदैन ।

पर्यटन भनेको स्थायित्व, सुरक्षा र भरोसामा आधारित क्षेत्र हो । जब आमनागरिक बाहिर घुम्न जानै नसकिने अवस्था सिर्जना हुन्छ, त्यहाँ पर्यटनको भविष्य राम्रो हुन सक्दैन । पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन र थप समृद्ध बनाउन राज्य, निजी क्षेत्र, समुदाय र युवा पुस्ताबीच सामूहिक समन्वय आवश्यक छ ।

Leave a Reply