नेतृत्व हस्तान्तरण नगर्ने पुराना नेताहरूको हठ, लोकतन्त्रकै अपमान | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

नेतृत्व हस्तान्तरण नगर्ने पुराना नेताहरूको हठ, लोकतन्त्रकै अपमान

लोकतन्त्रका लागि सघर्ष गरेर स्थापित भएका राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र भने दयनीय अवस्थामा रहेको देखिन्छ । नेतृत्वको बागडोर क्रमशः युवा पुस्तामा हस्तान्तरण गर्नु पछिल्लो जेन जी आन्दोलनको भावना मात्र नभइ लोकतान्त्रिक अभ्यासको अनिवार्यता पनि हो । 

पुराना पुस्ताका नेताहरूको सत्तालिप्सा र नेतृत्व हस्तान्तरणप्रति उनीहरूको अनिच्छा नेपालको वर्तमान राजनीतिक परिदृश्यमा एउटा गम्भीर र चिन्ताजनक विषयका रुपमा देखापरेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता प्रमुख दलहरूमा यतिबेला पनि दशकौँ अगाडिका नेताहरू नै नेतृत्वको उच्च तहममा बसेका छन् । उनीहरू न त स्वयं सत्ताबाट हट्न चाहन्छन्, न त युवालाई अघि बढ्न दिन चाहन्छन् । परिणामस्वरूप, यी दलहरूमा आन्तरिक लोकतन्त्र र शक्ति परिवर्तनको प्रक्रिया अवरुद्ध छ, जसले समग्र राजनीतिक प्रणालीलाई नै जडता र अविश्वासको दलदलमा पु¥याइरहेको देखिन्छ । यसको जल्दोबल्दो उदाहरण हो पछिल्लो समय भएको जेन जी आन्दोलन ।

जेन जी आन्दोलनले दल तथा सरकारको नेतृत्वमा युवाको पनि उल्लेख्य भूमिका हुनुपर्नेमा जोड दिइरहेको छ । यो आन्दोलन केवल सामाजिक सञ्जालमा देखापर्ने युवाको देखावटी आवाज मात्र नभइ सत्ता, संरचना र सोचमा परिवर्तनको माग पनि हो । तर नेपालको मूलधारको राजनीतिमा भने जेन जीको आवाजलाई बेवास्ता गरिएको देखिएको छ । युवा पुस्ता अग्रसर हुन खोज्दा पार्टी भित्रैबाट पुराना नेताहरूको जालोमा अल्झिन बाध्य भएको देखिन्छ । नेतृत्वको कार्यशैलीमा नयाँपन ल्याउन कोसिस गर्नेहरूलाई अनुभवहीन भनेर टार्ने र अनुभवको नाममा पद र सत्तामा टाँसिइरहने परम्पराले बलियो गरी जरा गाडेको छ ।यो रोग कांग्रेस, एमाले र माओवादीमा झाँगिएको छ ।

नेपाली कांग्रेसमा शेरबहादुर देउवा, एमालेमा केपी शर्मा ओली र माओवादीमा पुष्पकमल दाहाल प्रचण्ड जस्ता नेताहरू पटक–पटक सत्ता र संगठनको शिखरमा पुगिसकेका छन् । तर यिनीहरुले अहिलेसम्म पनि नेतृत्व हस्तान्तरणको विषयमा प्रष्ट योजना दिएका छैनन्, या उनीहरु बाँचुन्जेल नेतृत्वमा रहिरहन चाहन्छन् । उनीहरुबाट देश र जनताको हितमा काम हुने कुनै आशा गर्न सकिन्न । एकातर्फ उनीहरूले लोकतन्त्रको स्थापनामा भूमिका खेलेको दाबी गर्छन् भने अर्कोतर्फ आफ्नै पार्टीमा लोकतान्त्रिक नेतृत्व परिवर्तनको अभ्यास गर्न दिदैनन् । यो दोहोरो चरित्र जनताको आँखामा नाङ्गो भइरहेको छ । जब नेताहरूले नै लोकतान्त्रिक मूल्यको खिल्ली उडाउँछन्, तब लोकतन्त्रको भविष्य अन्धकारमय हुन बेर लाग्दैन । देउवा, ओली र दाहालको अनुहार पार्टीभित्र रहिरहदा युवा पुस्ताको समर्थन यी तिनदललाई किमार्थ हुन सक्दैन ।

युवाले राजनीति बदल्न सक्छन् भन्ने कुरामा कुनै शंका छैन । तर पुराना नेताहरूले युवालाई अवसर दिनुको सट्टा बाधा बनिरहेका छन् । युवाको नवीन सोच, ऊर्जा र प्रविधिमैत्री दृष्टिकोणले देशको राजनीति र नीति निर्माणमा गुणात्मक सुधार ल्याउन सक्छ । पार्टीहरूको भविष्यनै यिनै युवाको हातमा निर्भर छ, तर पुराना नेताहरू त्यो भविष्य नै अवरुद्ध गरिरहेका छन् । यदी यस्तो स्थितिले निरन्तरता पायो भने, पार्टीहरूमा आन्तरिक विस्फोट र वैकल्पिक शक्तिहरूको उदय अपरिहार्य बन्न सक्छ ।फोहोर बनेर गनाएका नेतृत्वलाई युवा पुस्ताले पाखा लगाउनु अहिलेको प्रमुख माग हो ।

पुराना नेताहरूको सत्ता मोह केवल व्यक्तिगत स्वार्थ र पदलिप्साको प्रतिफलजस्तो देखिन्छ । उनीहरूले विगतमा गरेका योगदानप्रति सम्मान गर्दै आजको आवश्यकता बुझ्नुपर्ने समय आएको छ । समयको माग अनुसार सोच्न नसक्ने नेताहरू आफै समयको आवाज नसुन्ने शासकझैँ हुन्छन्, जसको अन्त्य तिब्र र अकल्पनीय हुन पुग्छ जसरी जेन जी आन्दोलनले जनभावना नबुभ्mने साशकलाई एकैदिनमा सत्ताच्युत गराइदियो । नेतृत्व परिवर्तन नभएसम्म पार्टीभित्र नवीन सोच, दिगो नीति र दीर्घकालीन रणनीति स्थापित हुन सक्दैन । नेतृत्व हस्तान्तरणलाई विकल्प होइन, अपरिहार्य प्रक्रिया मानेर अघि बढ्नु आजको यथार्थ र वास्तविकता पनि हो ।

 

Leave a Reply