लोकतन्त्रका लागि सघर्ष गरेर स्थापित भएका राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र भने दयनीय अवस्थामा रहेको देखिन्छ । नेतृत्वको बागडोर क्रमशः युवा पुस्तामा हस्तान्तरण गर्नु पछिल्लो जेन जी आन्दोलनको भावना मात्र नभइ लोकतान्त्रिक अभ्यासको अनिवार्यता पनि हो ।
पुराना पुस्ताका नेताहरूको सत्तालिप्सा र नेतृत्व हस्तान्तरणप्रति उनीहरूको अनिच्छा नेपालको वर्तमान राजनीतिक परिदृश्यमा एउटा गम्भीर र चिन्ताजनक विषयका रुपमा देखापरेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता प्रमुख दलहरूमा यतिबेला पनि दशकौँ अगाडिका नेताहरू नै नेतृत्वको उच्च तहममा बसेका छन् । उनीहरू न त स्वयं सत्ताबाट हट्न चाहन्छन्, न त युवालाई अघि बढ्न दिन चाहन्छन् । परिणामस्वरूप, यी दलहरूमा आन्तरिक लोकतन्त्र र शक्ति परिवर्तनको प्रक्रिया अवरुद्ध छ, जसले समग्र राजनीतिक प्रणालीलाई नै जडता र अविश्वासको दलदलमा पु¥याइरहेको देखिन्छ । यसको जल्दोबल्दो उदाहरण हो पछिल्लो समय भएको जेन जी आन्दोलन ।
जेन जी आन्दोलनले दल तथा सरकारको नेतृत्वमा युवाको पनि उल्लेख्य भूमिका हुनुपर्नेमा जोड दिइरहेको छ । यो आन्दोलन केवल सामाजिक सञ्जालमा देखापर्ने युवाको देखावटी आवाज मात्र नभइ सत्ता, संरचना र सोचमा परिवर्तनको माग पनि हो । तर नेपालको मूलधारको राजनीतिमा भने जेन जीको आवाजलाई बेवास्ता गरिएको देखिएको छ । युवा पुस्ता अग्रसर हुन खोज्दा पार्टी भित्रैबाट पुराना नेताहरूको जालोमा अल्झिन बाध्य भएको देखिन्छ । नेतृत्वको कार्यशैलीमा नयाँपन ल्याउन कोसिस गर्नेहरूलाई अनुभवहीन भनेर टार्ने र अनुभवको नाममा पद र सत्तामा टाँसिइरहने परम्पराले बलियो गरी जरा गाडेको छ ।यो रोग कांग्रेस, एमाले र माओवादीमा झाँगिएको छ ।
नेपाली कांग्रेसमा शेरबहादुर देउवा, एमालेमा केपी शर्मा ओली र माओवादीमा पुष्पकमल दाहाल प्रचण्ड जस्ता नेताहरू पटक–पटक सत्ता र संगठनको शिखरमा पुगिसकेका छन् । तर यिनीहरुले अहिलेसम्म पनि नेतृत्व हस्तान्तरणको विषयमा प्रष्ट योजना दिएका छैनन्, या उनीहरु बाँचुन्जेल नेतृत्वमा रहिरहन चाहन्छन् । उनीहरुबाट देश र जनताको हितमा काम हुने कुनै आशा गर्न सकिन्न । एकातर्फ उनीहरूले लोकतन्त्रको स्थापनामा भूमिका खेलेको दाबी गर्छन् भने अर्कोतर्फ आफ्नै पार्टीमा लोकतान्त्रिक नेतृत्व परिवर्तनको अभ्यास गर्न दिदैनन् । यो दोहोरो चरित्र जनताको आँखामा नाङ्गो भइरहेको छ । जब नेताहरूले नै लोकतान्त्रिक मूल्यको खिल्ली उडाउँछन्, तब लोकतन्त्रको भविष्य अन्धकारमय हुन बेर लाग्दैन । देउवा, ओली र दाहालको अनुहार पार्टीभित्र रहिरहदा युवा पुस्ताको समर्थन यी तिनदललाई किमार्थ हुन सक्दैन ।
युवाले राजनीति बदल्न सक्छन् भन्ने कुरामा कुनै शंका छैन । तर पुराना नेताहरूले युवालाई अवसर दिनुको सट्टा बाधा बनिरहेका छन् । युवाको नवीन सोच, ऊर्जा र प्रविधिमैत्री दृष्टिकोणले देशको राजनीति र नीति निर्माणमा गुणात्मक सुधार ल्याउन सक्छ । पार्टीहरूको भविष्यनै यिनै युवाको हातमा निर्भर छ, तर पुराना नेताहरू त्यो भविष्य नै अवरुद्ध गरिरहेका छन् । यदी यस्तो स्थितिले निरन्तरता पायो भने, पार्टीहरूमा आन्तरिक विस्फोट र वैकल्पिक शक्तिहरूको उदय अपरिहार्य बन्न सक्छ ।फोहोर बनेर गनाएका नेतृत्वलाई युवा पुस्ताले पाखा लगाउनु अहिलेको प्रमुख माग हो ।
पुराना नेताहरूको सत्ता मोह केवल व्यक्तिगत स्वार्थ र पदलिप्साको प्रतिफलजस्तो देखिन्छ । उनीहरूले विगतमा गरेका योगदानप्रति सम्मान गर्दै आजको आवश्यकता बुझ्नुपर्ने समय आएको छ । समयको माग अनुसार सोच्न नसक्ने नेताहरू आफै समयको आवाज नसुन्ने शासकझैँ हुन्छन्, जसको अन्त्य तिब्र र अकल्पनीय हुन पुग्छ जसरी जेन जी आन्दोलनले जनभावना नबुभ्mने साशकलाई एकैदिनमा सत्ताच्युत गराइदियो । नेतृत्व परिवर्तन नभएसम्म पार्टीभित्र नवीन सोच, दिगो नीति र दीर्घकालीन रणनीति स्थापित हुन सक्दैन । नेतृत्व हस्तान्तरणलाई विकल्प होइन, अपरिहार्य प्रक्रिया मानेर अघि बढ्नु आजको यथार्थ र वास्तविकता पनि हो ।





