काठमाडाैं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले सन् २०२७ सम्ममा सबै नेपालीमा विपद्जन्य पूर्वसूचना पुर्याउने लक्ष्य रहेको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा महानिर्देशक जोशीले २०२७ सम्ममा सबै नेपालीमा विपद्जन्य पूर्वसूचना पुर्याउने लक्ष्य रहेको जानकारी दिनुभएको हो ।
विभागले जल तथा मौसमजन्य पूर्वानुमान र पूर्वसूचना दिने कार्यक्रम दैनिक रुपमा गरिरहेको उहाँले उल्लेख गर्नुभयो । विभाग, विश्व मौसम संगठनबीच २०२७ सम्म सबै नेपालीमा विपद्जन्य पूर्वसूचना पुर्याउने सहकार्य भएको महानिर्देशक जोशीले उल्लेख गर्नुभयो ।
विभागले प्रवाह गर्ने पूर्वसूचना र मौसम पूर्वानुमान,बाढी पूर्वानुमानमा बुझाईमा एकरुपता ल्याउनुपर्ने आवश्यकता देखिएको उहाँको भनाइ छ । विभागको प्राविधिक भनाइ र जनतामा प्रवाह हुने सूचनामा फरक पर्न जाँदा प्रश्न उठ्ने गरेको उहाँले गुनासो गर्नुभयो । महानिर्देशक जोशीले अझै एक साता नेपालमा मनसुन रहने जानकारी गराउनु भयो ।






