काठमाडाैं । २०४६ सालको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । प्रजातन्त्र पुनः स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंह नेपाली राजनीतिमा त्याग र साहसको प्रतिक मानिन्छ ।
२०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह नमानेर समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गर्नुभएको थियो । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो ।
काठमाडौँको खानदानी परिवारमा जन्मिएका गणेशमान विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय हुनुभयो । राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि तत्कालीन सरकारले जेल हाल्यो । २००७ साल अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोसिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभयो । सिंह जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभयो । २००३ सालमा मा स्थापित नेपाली राष्ट्रिय काँग्रेसको विकास र विस्तारमा आजीवन योगदान दिनुभयो । प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिमा एक अगुवाका रूपमा उहाँले वीरगन्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभयो ।
प्रजातन्त्र बहाली र पुनः बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठुला समर्थकका रूपमा रहेर नेपाली काँग्रेसलाई लोकप्रिय बनाउन क्रियाशील रहनु भयो । २०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताउनु भयो ।
२०२५ सालमा मा बिपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नु भयो । २०३३ सालमा मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सिंहले सक्रिय भूमिका खेले । नेता सिंहको २८औँ स्मृति दिवसका अवसरमा आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गर्दै छन् । यस अवसरमा आज बिहान शोभाभगवतीस्थित गणेशमानको सालिकमा माल्यार्पण गरिएको छ ।





