काठमाडौ ।
बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि गाडी सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा अस्ति बिहानदेखि सिधा यातायात अवरुद्ध भएको थियो ।
नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरेर सडकमा थुप्रिएका ठूला ढुङ्गा फुटाउने र डोजरको सहायताले पहिरो पन्छाएर गएराति १० बजे सडक खुलाएको घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मीनबहादुर खत्रीले बताए। सडक अवरुद्ध हुँदा कोरलानाकाबाट सामान लिएर आएका कन्टेनर, मुस्ताङको स्याउ र आलु बोकेर बजार हिँडेका मालबाहक ट्रक घाँसामै रोकिएका थिए ।
सोह्रश्राद्धमा मुस्ताङको कागबेनीमा पितृ तर्पण दिन देशका विभिन्न ठाउँ र भारतबाट आएका तीर्थयात्री, स्थानीयवासी र पर्यटक गन्तव्यतर्फ लागेका छन् । सिन्धुपाल्चोकको तातोपानी र रसुवाको नाका बन्द भएपछि दशैँका लागि नेपाली बजारमा आवश्यक सामान मुस्ताङको कोरलानाकाबाट ल्याउन थालिएकाले बेनी–जोमसोम सडकमा गाडीको चाप बढेको छ ।
अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो
ताजा समाचार
स्वस्थानी ब्रतकथा : आस्था, अनुशासन र समकालीन समाज
१५ घन्टा अघि




