दशैँ–तिहारको समयमा सडक यात्रामा देखिने भीड, यातायात टिकटमा कालोबजारी, सवारी साधनको क्षमताभन्दा बढी यात्रुलगायतका समस्या हरेक वर्ष दोहोरिने गरेका छन् । यस्ता समस्या समाधानका लागि समयमै अग्रिम टिकट बुकिङ, वैकल्पिक सवारी साधनको व्यवस्था तथा कडाइका साथ अनुगमन आवश्यक छ । राष्ट्रिय चाडपर्वमा लाखौँ यात्रुलाई सहज र सुरक्षित यात्रा गराउने दायित्व राज्यको हो ।
दशैँ र तिहार नेपालीहरुको मुख्य चाडपर्व हुन् । चाडपर्वको समयमा देशभरका आमनागरिकहरू राजधानी काठमाडौँ लगायत शहरी क्षेत्रबाट आफ्नो जन्मस्थल फर्कन्छन् । तर, हरेक वर्ष जस्तै यस वर्ष पनि चाडपर्वसँगै आउने यातायात तथा सडक समस्याको चक्र फेरि दोहोरिने निश्चित देखिन्छ । सहजरुपमा टिकट नपाइनु, कालोबजारी, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्नु, सवारी सुरक्षामा कमजोरी देखिनु, राजमार्गहरुमा विभिन्न क्लबहरुले अवैध शुल्क उठाउनु तथा सडकको जिर्ण अवस्थाका कारण पर्वको रौनकलाई पीडामा बदलिदिने गरेको छ ।
हरेक वर्ष दशैँ नजिकिँदै गर्दा यातायातमा अत्यधिक चाप देखिन्छ । सार्वजनिक सवारीमा खुट्टा टेक्ने ठाउँ हुँदैन, यात्रीहरू बसको छतसम्म यात्रा गर्न बाध्य छन् । सुरक्षा र नियमको नाममा प्रहरीले छतमा नबस्न दबाब दिन्छ, तर वैकल्पिक व्यवस्था हुँदैन । यस्तो अवस्थामा यात्रु दोषी हुन् कि व्यवस्था भन्ने प्रश्न उठ्नु स्वभाविकै हो ।
सबैभन्दा बढी गुनासो टिकट कालोबजारीको सुनिन्छ । अग्रिम टिकट बिक्री शुरु भएलगत्तै टिकट सिध्याउने र पछि दोब्बर, तेब्बर मूल्यमा बेच्ने दलाल र यातायात सञ्चालकहरूको चलखेलले आम यात्रुलाई ठगिन बाध्य बनाएको छ । अग्रिम टिकट बिक्रीमा लामो लाइन, असमान पहुँच र दलालको चलखेलले गर्दा यात्रुहरू सास्ती भोग्न बाध्य छन् । डिजिटल प्रणालीमार्फत् अनलाइन टिकट वितरणको पूर्ण व्यवस्था गरिएमा सबै यात्रुहरूलाई समान अवसर मिल्न सक्छ र टिकट खरिद प्रक्रियामा पारदर्शिता भइ कालोबजारी रोकिन सक्छ ।
यात्राको क्रममा अर्को पीडादायक पक्ष हो राजमार्गहरुमा जथाभावी शुल्क उठाइनु । विभिन्न युवा क्लब, टोल विकास संस्था तथा कतिपय स्थानीय निकाय समेतले राजमार्ग र सहायक सडकमा पैसा असुल्ने गरेका छन् । कुनै ‘सेवा शुल्क’ को नाममा त कतै ’साँस्कृतिक कार्यक्रम’ का नाममा शुल्क उठाइन्छ । यस्ता कार्य न त कानुनसम्मत हुन्छन्, न त यात्रुमैत्री नै । राजमार्गमा हुने यस्ता अवैध शुल्क तथा चन्दा असुलीको अन्त्य गर्नु आवश्यक छ ।
पहिरो र बर्खाका कारण बिग्रिएका सडकहरू मर्मत नहुँदा यात्राको जोखिम बढेको छ । संघीय राजधानीबाट बाहिर जाने र भित्रिने मुख्य राजमार्गहरुमा दैनिक जाम, दुर्घटना र लामो समयको प्रतीक्षाले यात्रुलाई थकित बनाउँछ । यात्रुलाई सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने जिम्मा राज्यको हो । तर यो जिम्मेवारी चाडपर्वमा लथालिङ्ग हुने गरेका छन् ।
चाडपर्व लक्षित गरेर अतिरिक्त सार्वजनिक सवारी साधनको व्यवस्था गर्नु आवश्यक छ जसबाट छतमा यात्रा गर्नुपर्ने बाध्यता घटाउँछ । वर्षातको समयमा भत्किएका वा पहिरोले बिग्रेका सडकहरूको मर्मत सम्भार तथा स्तरोन्नती समयै गर्नु जरुरी छ । पर्याप्त सवारी साधन उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चित गर्नु सरकारको दायित्व हो ।





