काठमाडाैं । काठमाडौं उपत्यकामा बिहीबारदेखि विधिवत रुपमा ईन्द्रजात्रा शुरु भएकाे गुठी संस्थानले बताएको छ । बिहीबार बिहान १० बजेर ३१ मिनेटमा गुठी संस्थानबाट पूजाआजा होमसहित क्षमा पूजा अर्थात ध्वजोत्थान गरी ध्वजा पताकाहरुले सजिएको लिङ्गोलाई डोरीको सहायताले तानेर उठाएपछि काठमाडौंमा विधिवत रुपमा ईन्द्रजात्राको प्रारम्भ हाे।
संस्थानका अनुसार भदौ २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरव रथयात्रा हुनेछ । यस्तै २६ गते बेलुका १० बजेर ३२ मिनेटको साइतमा ईन्द्रध्वजपतन गरी जात्रालाई समापन गरिने गुठी संस्थानले जनाएको छ ।
ईन्द्रजात्रा मनाउनको लागि भदौ ९ गते बेलुका वृक्षकर्तन गरेर ईन्द्रजात्राको लिङ्गो बनाइए पनि वनयात्रा शुरु गरिएको थियो । लिङ्गोलाई डोरीले तानेर भदौ १५ गते नगर प्रवेश गराईएको गुठी संस्थानले जानकारी दिएको छ ।
इन्द्रजात्राको लिङ्गो अर्थात योसी ल्याउने, उठाउने, रथखट बनाउने, तान्ने जस्ता जात्रा सञ्चालन कार्यमा नेवार समुदायाका विभिन्न जातिगत समुदायहरुको जिम्मेवारी हुनेछ भने इन्द्रजात्रामा सम्पादन गरिने कार्यको सम्पूर्ण व्यवस्थापन तथा नेतृत्व गुठी संस्थानले गर्दै आएको छ ।





